तुलसीपुर कोरोना विपद् कोषको राहत वितरण सुरु, आज ५ वटा वडामा बाँडिने

चैत २१, २०७६

 

 

 

राहत वितरण प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाले निर्देशिका समेत वनाएको छ । निर्देशिक अनुसार विभिन्न टोलबाट आएका निवेदनहरुलाई वडाध्यक्षले छनोट गरेर उपमहानगरपालिकामा वुझाइसकेका छन् ।

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपका कारण घरमै वस्न  वाध्य विपन्न वर्गका जनतालाई राहत वाँड्न लागेको छ । कोरोनाको संक्रमण देखिने वित्तिकै उपमहानगरपालिकाले राहत कोष वनाएर विभिन्न व्यक्ति र संघसंस्थाबाट सहयोग संकलन गरेको थियो । कोषमा उपमहानगरपालिकाले ५० लाख रुपैया राखेको छ ।

राहत वितरण प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाले निर्देशिका समेत वनाएको छ । निर्देशिक अनुसार विभिन्न टोलबाट आएका निवेदनहरुलाई वडाध्यक्षले छनोट गरेर उपमहानगरपालिकामा वुझाइसकेका छन् । “वडाबाट आएको नाम अनुसार राहत उपलब्ध गराइनेछ सोही अनुसार नै वडाध्यक्षले वितरण गर्नुहुनेछ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताए ।

उनले आज ५ वटा वडामा वितरण गरिने पनि जानकारी दिए । “ कतिपय वडाबाट अझै नाम नआएकोले त्यहाँ आएपछि मात्रै वितरण गरिनेछ ” संयोजक लामिछानेले भने । उनका अनुसार आज वडा नम्वर १,२,३,१६ र १७ मा वितरण गरिनेछ ।

राहत वितरणलाई व्यवस्थित वनाउनका लागि उपमहानगरपालिकाले फोटो सहितको अभिलेख राख्ने भएको छ । “कतिपय हुने खानेले पनि राहत लिने गरेको कुरालाई मध्यनजर गरेर यो गरिएको हो ।” नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।

प्रवक्ता डाँगीका अनुसार विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिनेछ । यो भन्दा अगाडि वडाकै पहलमा वडा नम्वर ३ ले २ सय ३६, वडा नम्वर ५ ले १ सय २५, वडा नम्वर ६ ले १ सय ७९ परिवारलाई चामल, दाल, पिठो, तेल, सावुन , मास्क लगायतका राहत वितरण गरिसकेको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस