घट्यो इन्धनको मूल्य 

चैत १, २०७६

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ १५ रुपैयाँ

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँसम्म घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै यहाँ पनि मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।

 

‘भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेर आएको छ । निगम सञ्चालक समिति बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको साविक खुद्रा बिक्री मूल्यमा १० रुपैयाँ घटाउने निर्णय गरेको छ,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, ‘हवाई उडानमा प्रयोग गरिने इन्धन (आन्तरिक उडानतर्फ) पनि प्रतिलिटर १५ रुपैयाँ घटाउने निर्णय भएको छ ।’ अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर यूडी डलर ०/९५ कायम गरिएको उनले बताए ।

मूल्य समायोजनपश्चात् उपत्यकामा प्रतिलिटर पेट्रोल ९६ रुपैयाँ, डिजेल ८५ रुपैयाँ र मट्टीतेल ८५ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ यूडी डलर ९५० तोकिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस