पार्टी जाेगाउँने उपाय

बैशाख १८, २०७७

नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा अहिले एक प्रकारको समस्या उत्पन्न भएको छ । पार्टीको अरु निकाय वा पंक्तिबाट समस्या उत्पन्न भएको भए त्यो सहजै समाधान गर्न सकिन्थ्यो र हुन सक्ने सम्भावित दुर्घटनाबाट पाटीलाई वचाउन सकिन्थ्यो । तर अहिलेको स्थिति अलि फरक छ । पाटी अध्यक्षबाट नै यो समस्याको सुरुवात भएको छ । यो कुरा भन्दा कतिपयलाई अलि तितो पनि लाग्न सक्छ । तर सत्य तितो नै भएपनि यसलाई मान्नै पर्ने हुन्छ ।

महिला, जनजाति, अल्पसंख्यक, सीमान्तकृतहरुका लागि के के भयो ? यो सरकारले जवाफ दिनुपर्ने प्रश्न हुन् यी ।

पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीले आफु पाटी अध्यक्ष भएदेखि नै पाटीलाई एकलौटी ढँगले सञ्चालन गर्नुभयो । केन्द्रीय कमिटी, पाटी पोलिटव्युरो, स्थायी कमिटी लगायतका निकायहरु औचित्यहिन जस्तै बने । पाटी (कम्युनिष्ट) लेनिनवादी संगठनात्मक विधिबाट चल्नुपर्नेमा हुकुम प्रमाङ्गी तोक आदेशमा चल्ने परिपाटी वस्यो ।

कम्युनिष्ट आन्दोलनभित्र योगदान गरेकाहरुलाई विस्तारै पाखा लगाइदै गयो । पाटी अध्यक्षको चाकडी गरे सबै पुग्ने भयो । जसले धेरै कुरा लगाउँछ, चाकडी चाप्लुसी गर्छ, पाटी नेतृत्वमा जाने न्युनतम योग्यता जो वन्यो । आलोचना गर्नेहरुलाई वर्ग विरोधीको व्यवहार हुन थाल्यो । पाटी होस् या सरकारमा वस्नेहरुले सबैका गुनासा सुन्नुपर्दछ, पाटी नेताहरुका आलोचना त झनै धेरै सुन्नुपर्दछ किनकी पार्टी निर्माणमा सबै योद्धाहरुको उत्तिकै योगदान हुन्छ ।

कम्युनिष्ट पाटी एउटा कुनै तिलस्मी नायकले निर्माण गरेको हुँदैन । पद प्रतिष्ठामा पुगेकाहरुले हमेशा ख्याल राख्नुपर्दछ कि यो शोषित पीडित जनता र कम्युनिष्ट क्रान्तिकारीहरुको नासो हो । म उनीहरुको प्रतिनिधि पात्र मात्र हुँ भन्ने सम्झनुपर्दछ ।

विकास त पूँजिवादी साम्राज्यवादीहरुले पनि गरेका छन् । मुल कुरो पक्षधरताको हो ।

 

कम्युनिष्ट पार्टी अरुभन्दा जनमुखी, जनवादी, समानताका पक्षधर, न्यायप्रेमी हुन्छन् भनेरै जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गर्छन् । तर कम्युनिष्ट नेताहरुमा वढ्दै गएको सुविधाभोगी, द्रव्यमोह, अभिजात वर्गिय शैली र संस्कारका कारणले जनताको विश्वास गुम्ने खतरा छ । कुनै पनि व्यक्तिलाई तिलस्मी नायक महानायकको परिकल्पना त आदर्शवादीहरुले गर्ने कुरा हो ।

पछिल्लो चरणमा केपी ओलीलाई एक क्रान्तिकारी नेताका रुपमा नभई देवत्वकरण गरिदैछ र सिंगो कम्युनिष्ट आन्दोलनलाई नै दिग्भ्रमित पार्ने काम गरिदैछ । कुनै एक नेताको देवत्वकरण गर्नु कम्युनिष्ट आन्दोलनको गम्भिर खतराको संकेत हो ।

आजभोलि केपी ओलीको सरकारले धेरै विकास गरेको भनेर प्रचारवाजी गरिन्छ । तर यो सरकार नेकपाको हो र नेकपाले विकासको नेतृत्व गरेको छ भनिदैन । यो भनाउने कामको नेतृत्व उहाँले गर्नुपर्छ की पर्दैन ? विकास त पूँजिवादी साम्राज्यवादीहरुले पनि गरेका छन् । मुल कुरो पक्षधरताको हो ।

यो सरकार वनेपछि देशका शोषित पीडित जनतालाई विकासको मूलप्रवाहमा ल्याउन के के नीति अख्तियार भयो ? नेपाली अर्थतन्त्र कृषिमा आश्रित छ , नेपाली किसानको जीवनस्तर माथि उठाउन के के प्रयत्न भए ? युगौदेखि चरम अमानवियता खेपिराखेको दलित समुदायका लागि के भयो ? महिला, जनजाति, अल्पसंख्यक, सीमान्तकृतहरुका लागि के के भयो ? यो सरकारले जवाफ दिनुपर्ने प्रश्न हुन् यी ।

हालको समस्यालाई केवल टालटुल पार्ने ढँगले मात्रै हेरियो भने सही समाधान हुँदैन । कम्युनिष्ट आन्दोलनले हिड्नुपर्ने मार्ग छोडेको गम्भीर भूलको समीक्षा गर्दै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर होइन आमुल रुपान्तरण गर्दै उहाँको सल्लाहकार र सहयोगी समुह परिवर्तन गरेर, पाटीको एकल अध्यक्ष प्रचण्डलाई दिएर पाटी निर्णयविना कुनै पनि कदम चाल्न नदिने गरी लगाम लगाउनुपर्दछ ।

समस्या प्रवृत्तिमा छ , त्यसैले समाधान पनि संस्कारगत ढँगले गर्दै जानुपर्दछ । आधारभूत रुपमै कम्युनिष्ट आन्दोलनको मियो छोडेको सरकारलाई ठिक मार्गमा ल्याउन पनि त्यत्तिकै कठिन छ ।

प्रतिक्रिया दिनुहोस