नेकपा सचिवालयको अर्को बैठक २० गते, स्थायी समितिको बैठकबारे छलफल

बैशाख १७, २०७७

तुलसीपुर । आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारको सचिवालय बैठक सकिएको छ। आगामी २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गर्दै बुधबारको बैठक सकिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीमा देखिएको आन्तरिक विवादका विषयमा छलफल भएपछि कुनै निश्कर्ष निस्कन सकेन।

पार्टीमा विवाद देखिएपछि २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउनुपर्ने भन्दै पार्टी अध्यक्षहरूलाई पत्र बुझाएका थिए। त्यसविषयमा पनि बुधबारको बैठकमा सामान्य छलफल भएको बताइएको छ। २० गतेको बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।

बैठकपछि उनले भने, ‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ।’

यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको र सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने उनले बताए।

प्रतिक्रिया दिनुहोस