प्रदेश ५ मा कक्षा ९ सम्म भर्ना कार्यक्रम अगाडि बढाइने

बैशाख १७, २०७७

प्रदेश मा ५ हजार ७ सय विद्यालयमा करिब ११ लाख हाराहारीमा विद्यार्थी छन् । लकडाउनले उनीहरुको पढाइ खोसिएको छ ।

बुटवल — लकडाउन जारी रहेपनि प्रदेश ५ मा कक्षा नौसम्मको पढाइ सुरु हुने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशनसँगै नयाँ कक्षामा विद्यार्थी भर्ना गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले स्थानीय तहलाई एक हप्ताभित्र कक्षा ९ सम्मको नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ । त्यसका लागि अनलाइन, टेलिफोन तथा सुरक्षित रुपमा विद्यार्थी भर्ना गरी पुस्तक वितरण गर्न आग्रह गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । कोरोना महामारीका कारण तोकिएको मितिभन्दा पहिले नै परीक्षा सकिए पनि अहिलेसम्म नतिजा प्रकाशन हुन सकेको छैन ।

नतिजा प्रकाशन र पुस्तक प्राप्तिपछि पठनपाठन सुरु हुनेछ ।

प्रदेश मा ५ हजार ७ सय विद्यालयमा करिब ११ लाख हाराहारीमा विद्यार्थी छन् । लकडाउनले उनीहरुको पढाइ खोसिएको छ । नतिजा प्रकाशन नहुदा विद्यार्थीहरु कुन पुस्तक पढ्ने भन्नेमा पनि अन्योल छन् । मन्त्री बरालले विद्यालय तहसम्मको अधिकार स्थानीय तहमा रहेकाले स्थानीय तहकै समन्वयमा पढाइ सुचारु गर्न लागिएको बताए ।

मन्त्री बरालका अनुसार जनक शिक्षा सामाग्री संस्थानद्वारा मन्त्रालय हुँदै जिल्ला र स्थानीय तहका स्टेशनरीमा कक्षागत पुस्तक पठाइने छ । सामाजिक दुरी कायम गर्दै सबै विद्यार्थीका हातमा पुस्तक पुर्याइनेछ । नतिजा प्रकाशन र पुस्तक प्राप्तिपछि पठनपाठन सुरु हुनेछ । अभिभावककै निगरानीमा बालबालिकाले पढ्न पाउनेछन् । मन्त्री बरालले पठनपाठनका विभिन्न उपायका बारेमा वीज्ञहरुसँग छलफल चलिरहेको बताए। जसमा दुरशिक्षाको अभ्यास गरिरहेका स्थानीय तहहरुलाई अनुदान दिएर सघाइने छ ।

एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि प्रदेशका कतिपय स्थानीय तहले अनलाइन, टेलिभिजन र रेडियोबाट पठनपाठन गराइरहेका छन्। यस्तो सुविधामा तल्लो कक्षामा वा संचार माध्यम नहुनेका लागि छैन ।

प्रतिक्रिया दिनुहोस