सामाजिक सञ्जालमा होइन बैठकमा लडौं

बैशाख १६, २०७७

 

 

अहिले लकडाउनको समय छ । विश्व नै कोरोनाको सन्त्रासमा रहेको छ । अधिकाशं नेपाली घरभित्रै छौँ । घरभित्र बस्दा पट्यार लाग्नु स्वभाविक नै हो । अझ यति लामो समयसम्म घरभित्रै बस्दा कतिपयलाई त मानसिक समस्या नै हुन्छ । जसले गर्दा मनमा सकारात्मक भन्दा नकारात्मक भावना पैदा हुन्छ ।

सायद यहि भएर हो कि सामाजिक सञ्जालमा अहिले सकारात्मक भन्दा बढि नकारात्मक स्टाटस ,कमेन्ट देख्न सकिन्छ ।
हुन त धेरैले राम्रा राम्रा लेख रचना पस्किएर लकडाउनलाई अध्ययनको अवसरमा बदलिदिएका छन् । यसले समाजलाई केही नयाँ कुुरा र सन्देश दिएको छ । तर यो समयमा सकारात्मकको तुलनामा नकारात्मक विषयबस्तु धेरै नै देखिएर लेखिए ।

यसमा पनि खासगरी राजनीतिक विषयबस्तु नै बढी चर्चामा रह्यो । खासगरी सत्तारूढ दल नेकपाका नेता कार्यक्रताहरू सामाजिक सञ्जालमा धेरै नै लडामति देखियो । ठूला नेताको असमझदारी तलै सम्मका हामी कार्यकर्तामा प्रष्टसंग देखियो । नेताका नाममा कार्यकर्ताहरू तलैसम्म विभाजित हुँदा यसको असर पछिसम्म पर्ने देखिन्छ । माथि नेताहरू भागबण्डा मिलेको खण्डमा मिल्न बेर लगाउँदैनन् । तर हामी कार्यकर्ता यसरी लड्दा घाटा हुने हामीलाई नै हो ।

मर्दा पर्दा दुख पर्दा चाहिने हामी नै हो । कोहि ठूलो नेता आएर यहाँ केही गरिदिने छैनन् । तर हामी नेताको पछि लागेर तल्लो स्तरमा सामाजिक सञ्जालमा गाली गलौजमा उत्रनुले हाम्रो सोँच र स्तर प्रस्ट देखाएको छ । आज धारेहात लगाएर गाली गरेको मान्छेलाई जिताउन चुनावमा झण्डा त हामीले नै बोक्ने होइन र ?

असन्तुष्टि सबैमा छन् । ठूलो परिवार (नेकपा) मा असन्तुष्टि हुनु सामान्य कुरा हो ।

केही समय अगाडि नेकपाले एउटा सर्कुलर जारी गर्याे सार्वजनिक रूपमा नेताहरूलाई गाली गलौज र आलोचना नगर्नु । तर हामीले कत्ति छिट्टै भुल्यौँ । हुनत नेतालाई विधि नलाग्ने ? हामीलाई लाग्ने ? भन्ने प्रश्न आउला । तर हामी सचेत कार्यकर्ताले पनि उस्तै गर्याैँ भने नेता र हामीमा के फरक रह्यो ?

 

कुनै पनि व्यक्तिको चरित्र र सोच उसले बोल्ने शब्द, उसले लेख्ने वाक्यले निर्धारण गर्छ । त्यसैले तल्लो स्तरमा झरेर सञ्चार माध्यम र सामाजिक सञ्जालमा लेख्ने बोल्नेले आफु सक्षम छुँ भन्नुको कुनै अर्थ नहोला । असन्तुष्टि सबैमा छन् । ठूलो परिवार (नेकपा) मा असन्तुष्टि हुनु सामान्य कुरा हो ।

तर असन्तुष्टि भयो भन्दैमा सार्वजनिक रूपमा लेखिहाल्ने बोलिहाल्ने हाम्रो बानीले हामी र हाम्रो पार्टीलाई कहिल्यै फाईदा गर्दैन । असन्तुष्टिलाई राख्ने पार्टीका बैठक भेलामा गरौँ । बरू कोसंग के विषयमा चित्त बुझ्दैन उ संग सीधै राखौँ । आलोचना आत्मालोचना गरौँ । यसले नै हामीले सोँचेको राम्रो पार्टी र देश बन्छ ।

लड्नु नै पर्याे या कसैलाई नेता नै मान्न सकिँदैन भने पार्टीका अधिवेशन, महाधिवेशनमा आउँछन् त्यही बेला बेस्सरी रिस फेर्न सकिन्छ । लडाइका अनेक आन्तरिक मोर्चाहरु छन्, वाहिरै देखाएर हिड्नु पर्ने आवश्यकता हुँदैन । अनि फरक बिचार राख्ने हरेकको नागरिकले मुल्यांकन गरेका छन् । अहिले नै सबै सकियो भनेर कोकोहोलो मच्चाउनु आवश्यक छैन । गुट उपगुटको खोल ओढेर एक अर्कालाई सराप्नुभन्दा पनि लिक छाड्ने नेतालाई सबै मिलेर खबरदारी गर्नुपर्ने होइन र ?

हिडेर टाढा पुग्ने हो भने चर्को वोल्ने होइन चर्को वोल्नेहरुलाई मिलाएर लैजानुपर्दछ ।

२ वर्ष पछि निर्वाचनमा प्रतिस्पर्धा गरौँला । अनि जनताले राम्रो र नराम्रो छुट्याईहाल्छन् । अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक कसैकाे कसैको आलोचना र कसैको स्तुति गान गाएर जग नहसाऔँ । आजका दिन सम्म रिस आवेगमा अज्ञानवश पार्टी र देश हित विपरित जे लेखिए, बोलिए पनि आजदेखि नै यस्ता गलत प्रवृत्ति त्यागौँ । अनि सस्तो लोकप्रियताको लागि गलत प्रवृत्तिलाई पक्षपोषण नगरौँ ।

संगै हिडेपछि मतमतान्तर अवश्य पनि हुन्छन् तर त्यसलाई मिलाएर लैजाने गुुण भएको मान्छे नै वास्तवमा नेता हो । हिडेर टाढा पुग्ने हो भने चर्को वोल्ने होइन चर्को वोल्नेहरुलाई मिलाएर लैजानुपर्दछ । हरेक घटनालाई गुट उपगुटको आँखाले हेर्ने भन्दा पनि वास्तविकताको चश्मा लगाएर हेर्ने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस