कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो, २ लाख ११ हजार बढीको मृत्यु

बैशाख १६, २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या साढे ३० लाख नाघेको छ भने सोही भाइरसका कारण २ लाख ११ हजार बढीको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस पहिलो पटक देखापरेको चार महिनायता हालसम्म ३० लाख ६० हजार ४ सय ७ जनामा संक्रमणको पुष्टि भइसकेको छ। सोही अवधिमा कोरोना कारण विश्वमा २ लाख ११ हजार २ सय ४४ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना भाइरसका कूल संक्रमितमध्ये हालसम्म ९ लाख १९ हजार ८ सय ८९ जना उपचारपछि निको भइ घर फर्केका छन्। अहिले विश्वमा कोरोना भाइरसका १९ लाख २९ हजार २ सय ७४ जना संक्रमित उपचारत छन्। यीमध्ये ५६ हजार २ सय ८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख ७२ हजार ९ सय ९३ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको चार महिनाको अवधिमा यो फैलिएर विश्वका २ सय १० देश तथा क्षेत्रमा पुगेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान, रुस, चीन र ब्राजिल रहेका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमितको संख्या अमेरिकामा रहेको छ।

पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सोमबारसम्म १० लाख ९ हजार ४० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ, जसमध्ये ५६ हजार ६ सय ७७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोन भाइरस संक्रमितके संख्या २ लाख २९ हजार ४ सय २२ पुगेको छ। यीमध्ये २३ हजार ५ सइ २१ जनाको मृत्यु भएको छ।

इटालीमा १ लाख ९९ हजार ४ सय १४ जनामा कोरोना संक्रमण भएकोमा २६ हजार ९ सय ७७ जनाले ज्यान गुमाइसकेका छन्। फ्रान्समा कोरोना संक्रमित १ लाख ६५ हजार ८ सय ४२ जना छन् भने २३ हजार २ सय ९३ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ५८ हजार ४ सय ३४ जना रहेका छन् भने ६ हजार ६१ जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख ५७ हजार १ सय ४९ जना रहेको छ, जसमध्ये २१ हजार ९२ जनाको मृत्यु भइसकेको छ।

टर्कीमा १ लाख १२ हजार २ सय ६१ जनामा कोरोना देखिएको छ। यीमध्ये २ हजार ९ सय जनाको मृत्यु भएको छ। इरानमा ९१ हजार ४ सय ७२ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भइसकेको छ, जसमध्ये ५ हजार ८ सय ६ जनाले ज्यान गुमाइसकेका छन्।

रुसमा कोरोना संक्रमितको संख्या ८७ हजार १ सय ४७ पुगेको छ, जसमध्ये ७ सय ९४ जनाको मृत्यु भएको छ। चीनमा ८२ हजार ८ सय ३० जना कोरोना भाइरस संक्रमित छन्। यीमध्ये ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म ब्राजिलमा ४ हजार ५ सय ४३, क्यानाडामा २ हजार ७ सय ४, बेल्जियममा ७ हजार २ सय ७ , नेदरल्याण्ड्समा ४ हजार ५ सय १८, स्वीट्जरल्याण्डमा १ हजार ६ सय ६५, आयरल्याण्डमा १ हजार १ सय २ र स्वीडेनमा २ हजार २ सय ७४ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस