बाबुरामकाे अन्तर्वार्ता काण्डले उब्जाएका सवालहरू

बैशाख १५, २०७७

 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको अन्तर्वार्तामा उनले  अपाच्य शब्दको प्रयोग भन्दै रेडियो नेपालले सार्वजनिक विज्ञप्ती निकालेर वेवसाइटबाट हटाएपछि पत्रकारिताको क्षेत्रमा अनेक सवाल उठेका छन् । लामो समयदेखि पत्रकारिता गर्दै र अध्यापन गराउँदै आएका विज्ञान शर्माले यो घटनालाई यसरी व्याख्या गरेका छन् ।

१. बाबुराम भट्टराईले अपशब्द बोलेको भन्दै रेडियो नेपालले विज्ञप्ति निकालेको छ । सरकारी मिडियामा कन्टेन्टमाथि सरकारको खुलेआम नियन्त्रण छ भन्ने यो घटनाले देखाएको छ, जुन अशोभनीय मात्र होइन, आपत्तिजनक छ ।

 

२.रेडियो नेपालबाट २०६९ साल १६ पुस बिहान प्रसारित ‘अन्तरसंवाद कार्यक्रम’ मा नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईबाट व्यक्त गरिएको विचारप्रति सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की र कार्यक्रम प्रस्तोता प्रमोद दाहालसँग स्पष्टिकरण सोधेको थियो । बाबुराम पनि उस्तै हुन् भन्ने टिप्पणी पनि आएको छ । त्याे घटना पनि आपत्तिजनक थियो भन्ने बुझौं ।

 

३. सरकारका समर्थक र विरोधीहरुलाई एकअर्का माथि भिड्न आज सार्वजनिक घटना र सात वर्षअघिको त्यो घटना काफी छन् । जति सकिन्छ, हिर्काउन सकिन्एछ एकअर्कालाई । तर यसाे गर्नु ठीक हाे? साेँचाै ।

 

४. निष्पक्ष भएर ठण्डा दिमागले सोचौं– हामीले पात्रको विरोध गर्ने कि प्रवृत्तिको? सरकारी सञ्चार माध्यम जनताको सञ्चार माध्यम हो, समर्थक, विरोधी, पक्ष प्रतिपक्ष सबै अटाउन सक्नुपर्छ । रेडियो नेपाल जनताको करले चल्ने संस्था हो । पात्रको विरोध हो भने बुझौं, हामीभित्रको निष्पक्षताको चेत सकियो ।

५. त्यसो भए सञ्चार माध्यममा अपमान गर्न पाइन्छ ? जे मन लाग्यो त्यही बोल्न पाइन्छ ? यो प्रश्नको उत्तर यसरी खोजौं ।
हरेक सञ्चार माध्यमको आफ्नै सम्पादकीय नीति हुन्छ । के श्लील, के अश्लिल, के विषयलाई प्राथमिकता दिने, को सँग अन्तरर्वार्ता लिने, कसप्रति वफादार हुने आदि । यदी कुनै कन्टेन्ट सम्पादकीय नीतिभन्दा बाहिर गएर प्रकाशन प्रसारण भयो भने आन्तरिक समीक्षा हुन्छ र गल्ती दोहोरिन नदिने उपायहरुको अवलम्बन गरिन्छ ।

यसरी घरको गल्ती दुनियाँलाइ भन्दै हिँडिदैन । सार्वजनिक विज्ञप्तिले रेडियो नेपालको कन्टेन्ट छनोटमा कुनै सम्पादकीय नीति नरहेको प्रस्ट पार्छ । अझ भन्नुपर्दा उक्त अन्तरवार्ता रेडियो नेपालको उत्पादन होइन, प्रस्तोताको व्यक्तिगत उत्पादन हो की भन्ने सन्देश गएको छ । वक्ताले बोलेको बोल्दै गरेको कुरा सम्पादकीय नीतिको विरूद्द भए लाइभ भए पनि तत्काल कार्यक्रम काट्न सकिन्छ । यसलाइ सम्पादकीय नीतिअनुसार मिडियाले स्पस्टिकरण दिन सक्छ ।

६. विज्ञप्ती निकालेर रेडियो नेपालले के पायो ? सरकारले के पायो ? रेडियो नेपालको विज्ञप्ति इतिहासकै झुर घटना भन्छु म । त्यो भन्दा पनि रेडियो नेपालका सञ्चालक र विज्ञप्ति जारी गर्न लगाउने निर्देशकहरुको कुवुद्धिको पराकाष्ठा भन्ठान्छु । त्यसको कारण छ । कुनै विषयमाथि खण्डन गर्नुपर्यो भने यस्तो विज्ञप्ति निकालिन्छ ।

सरकारलाइ जोगाउने नाममा सरकारका सहयोगीहरूले नै सरकारको लाज फुस्काइदिने काम बन्द गराैं ।

विज्ञप्तीको उद्देश्य जनतामा छवि बिगार्ने होइन, छवि राम्रो बनाउने हो । जब रेडियो नेपालको त्यो अन्तर्वार्ता धेरैले महत्व दिएका थिएनन्, बाबुरामले प्रधानमन्त्रीलाई भस्मासुर भनेको धेरैलाई थाहै थिएन । जनतालाई थाहै नभएको विषयमाथि विज्ञप्ती निकाल्दा प्रधानमन्त्री ओलीलाई बाबुरामले भस्मासुरको संज्ञा दिएको धेरैलाई थाहा भयो ।

त्यो भन्दा पनि खतरा उक्त अन्तर्वार्ता भाइरल भयो । अर्थात सरकार र रेडियो नेपाल जुन कुरा लुकाउन चाहन्थे वा जसरी सरकारको राम्रो छवि गराउन चाहन्थे ठ्याक्कै उल्टो भयो । सञ्चारमाध्यमको मल्टिप्लायर प्रभावबारे न्युनतम ज्ञान भएको भए यो विज्ञप्ती जारी हुने थिएन ।

७. अन्त्यमा, सरकारका सहयाेगीहरू (रेडियो नेपाललगायत)लाई सुझाव– आमसञ्चारअन्तर्गत राजनीतिक संचार, जनसम्पर्क जस्ता विभिन्न विधागत विषयहरु अध्ययन गर्न पाइन्छ । सक्नुहुन्छ, औपचारिक शिक्षा लिनोस् । सकिन्न, अनौपचारिकरूपमा अध्ययन गर्नोस् । कस्तो बेला प्रेस विज्ञप्ति निकाल्ने, कस्तो बेला घटनालाई इग्नोर गर्ने । सरकारको छवि निर्माण गर्न मिडीया, प्रतिपक्ष सबैलाई गाली गर्दै भाषण गर्ने की सभ्य भएर जनता रिझाउने भन्ने कुरा थाहा हुन्छ । सरकारलाइ जोगाउने नाममा सरकारका सहयोगीहरूले नै सरकारको लाज फुस्काइदिने काम बन्द गराैं ।

प्रतिक्रिया दिनुहोस