होम डेलिभरी : सेवा कम मुल्य ज्यादा

बैशाख १५, २०७७

घोराही उपमहानगरपालिका १७ पनौराकी निरा गौतमले होम डेलीभरीको गाडीवाट आईतवार तरकारी किनिन् । घर अगाडी तरकारी पाउदा उनी खुसी भईन् । तर उनको खुशी धेरैवेर टिकेन । घरमा फेसवुक खोल्दा उनले किनेको तरकारीको मुल्य भन्दा फेसवुकमा आएको तरकारीकोे मुल्यमा आधा भन्दा सस्तो मुल्य देख्दा उनले ठगिएको महशुस गरीन् । उनले भिण्डी, करेला १ सय ४० रुपैया केजीको दरले किनेकोमा फेसवुकमा होमडेलीभरी गर्ने अर्को सस्थाको मुल्य थियो ६० रुपैया । घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग बाणिज्य संघको व्यवस्थापनमा रहेको होम डेलीभरीमा तरकारी किन्दा उनले ठगिएको महशुस गरेकी हुन् ।

जिल्लामा क्रियाशिल उज्ज्यालो विहानी फाउण्डेसन, दाङ चेम्वर अफ कमर्श र बाई सेवा भन्ने संस्थाले किसान संग किनेकै मुल्यमा होमडेलीभरी सेवा सुरु गरेको थाहा पाएपछि गौतमले सोमवार एक÷एक केजी भिण्डी र करेला घरमै मगाईन् । उनले १ सय २० मै दुईकेजी तरकारी घरमै पाईन् । “लकडाउनको समयमा नगरवासीलाई सहज सेवा दिईरहेको बताएको घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योगवाणीज्य संघले नगरवासीलाई चर्को मुल्यमा तरकारी विक्रि गरेका रहेछन् आज थाहा पाए” गौतमले भनिन् । किसानवाट किनेको मुल्यको ४ सय प्रतिशत सम्म कमिसन खानलाई होमडेलीभरी गरेको उनको आरोप छ ।

उज्ज्यालो विहानी फाउण्डेसन, दाङ चेम्वर अफ कमर्श र बाई सेवाले अहिले भिण्डी ६०, करेला ६५, टमाटर २५, भाण्टा, काक्रा, लौका २०, बोडी ४५ रुपैया प्रतिकेजीमा विक्रि गरिरहेको छ । तर होमडेलीभरी गरीरहेको उद्योगवाणज्य संघले काक्रा ५०, भिण्डी, करेला १ सय ४० को दरले विक्रि गर्दै आईरहेको छ । संस्थाको कार्यालयमा आउने र घरमै डेलीभरी गर्दापनि एउटै मुल्य लिने गरेको संस्थाका टिम म्यानेजर मनोज श्रेष्ठले जानकारी दिए । जिल्ला तथा विदेशमा रहेका सहयोगी मनहरुको सहयोगवाट सस्तोमा तरकारी पु¥याउने अभियान सञ्चालन गरेको उनले बताए । “जिल्लाका विभिन्न स्थानमा किसानले फलाएका तरकारी किनेकै मुल्यमा विक्रि गरेका छौ, यसमा हामीलाई फाईदा छैन, घाटालाई हामीले जम्मा गरेको रकमवाट सेवा प्रदान गर्दै आएका छौ” श्रेष्ठले भने ।

अहिले घोराही वजार क्षेत्रमा मात्रै सेवा दिईरहेको संस्थाले मंगलवारदेखी पालिकाभरी सेवा दिने तयारी भएको दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महराले जानकारी दिए । गतसातादेखी होमडेलीभरी सेवा सुरु गरेको संस्थाले तयार गरेको अनलाईन फाराम भरेर तरकारीको अडर गरेमा घरसम्म पु¥याउने गरेको थियो । “अनलाईनवाट अडर गर्दा सवैको पहँुच नपुग्ने भएकोले मंगलवारदेखी गाडीमा टोलटोलमा लैजाने तयारी भएको छ” महराले भने । टोलटोलमा लैजानको लागी चेम्वर अफ कमर्शले गाडी उपलब्ध गराएको छ भने घोराही उपमहानगरपालिकाको वडा नम्वर १५ ले तेल उपलब्ध गराएको महराले जानकारी दिए । अहिले लमहीमा धेरै तरकारी उत्पादन भएकोले धेरै जसो तरकारी देउखुरी क्षेत्रवाटै आयात गरीरहेको उनले बताए ।

दाङ जिल्लामा तरकारीको फरक फरक मुल्यमा विक्रि गर्दा स्थानीय सरकार भने मौन रहेको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीका अनुसार सेवामुलक र नाफा मुलक संस्थाले बिक्रि गर्ने दररेटमा केही अन्तर हुन्छ । सेवामुलक संस्थाले नाफा नराखेर विक्रि गर्ने हुँदा नाफामुलक संगको रेट बढिहुनु स्वाभाविक रहेको उनले बताए । “दाङ जिल्ला उद्योग वाणिज्य संघसंग खरीद र विक्रि रेट माग गरेर हेर्छौ धेरै नाफा राखेर बेचेको भए कार्वाही गर्छौ” मेयर चौधरीले भने । प्रतिष्पर्धामा तरकारी विक्रि गरिरहेकोमा नागरिकहरु भने खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस