विरोध मात्रै गर्ने कि वास्तविकता पनि वुझ्ने ?

बैशाख १५, २०७७

पछिल्लो चरणमा लकडाउनलाई केही लचिलो वनाइदै लगिएको छ । खासगरी संक्रमणको आशंका नभएका ठाउँमा यसलाई केही लचिलो ढँगले लिएको पाइन्छ । देशव्यापीहरुमा एक खाले आवाज आयो , जहाँ जस्तो अवस्थामा रहेपनि आफ्नो घरमा फिर्ता पठा सरकार भनेर । नेपाल सरकारले भन्यो जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित तवरले वस्नुुस् । आफु पनि सुरक्षित होऔ र अरुलाई पनि सुरक्षित राखौ भन्ने सरकारको प्रष्ट नियत थियो ।

तर मुठ्ठीभरका केही जमातको यसमा विरोध आयो । वास्तविकता नै नवुझेर धेरैले हो मा हो मिलाए । सरकार मुठ्ठीभरका व्यक्तिको मात्रै नभएर जनताको थियो । त्यसैले जनताको भावना र चाहनालाई सम्मान गरेर सबैलाई घर फर्काउने अभियानमा सरकार अगाडि वढ्यो ।

जसको परिणाम गौरीफन्टा नाकाको दुर्नियत व्यहोर्नु पर्यो । चाहे चाँदनी दोँधारा होस् या अन्य नाका आज कसैलाई कुनै पनि त्रास छ भने केवल भारतबाट प्रवेश गर्ने व्यक्तिबाटै छ । समयमै भारतबाट आउने नाका सिल गर्न नसक्नुको परिणाम नेपालीले लामो समयसम्म भोगिरहने छन् ।

नेपालमा कोरोना संक्रमणको अहिलेको अवस्था हेर्दा भारतबाट आउने नागरीक नै मुख्य जिम्मेवार देखिएका छन् । यो सँगै फेरी नेपालभित्रैका जनतालाई घर फर्काउने वातावरण सरकारले गर्न सकेन भन्ने खालका आवाज सुनिए ।

सञ्चार माध्यमका लागि यो मिठो मसला जस्तो भयो । यो आवाजको पनि सम्मान गरेर स्थानीय सरकारसँग समन्वयमा घर जान चाहने नागरिकलाई घरमा पठाउँन सरकारले पहलकदमी लियो । यसैको परिणती अहिले जनताहरु घरघरमा जान थालेका छन् ।

विभिन्न ठाउँबाट घरमा आएका जनतालाई सेल्फ क्वारेन्टाइनमा वस्ने गरी स्थानीय सरकारले अनुमति पनि दिए । तर विडम्वना नेपाल भित्रकै आफ्नो दाजुभाई आउँदा पनि कुनै ठूलो अपराध गरेर आएको जस्तो गाउँमा व्यवहार हुन थालेको छ । उसलाई गाउँमा सेल्फ क्वारेन्टाइनमा वस्छु भन्दा पनि अनेक खालका लान्छना लगाएर अमानविय व्यवहार गरिएको छ ।

कुरा आजको मात्रै भन्दा पनि समाज अरु कुराको ख्याल नगरेर किन मनगढन्ते कुराका पछाडि दौडिरहेको छ भन्ने हो ।

घर आउँन नपाउँदा तत्काल ल्याउनुपर्यो भन्ने ल्याएपछि उनीहरुलाइृ अमानविय व्यवहार गर्ने साच्चै हाम्रो नियत मै खोट देखिएको छ । नेपालभित्रबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नु असम्भव मात्रै होइन अव्यवहारिक समेत मानिन्छ । भिडका भिड आउनेहरुलाई व्यवस्थापनका लागि स्थानीय सरकारसँग स्रोत समेत हुँदैन यस्तो अवस्थामा जनताको आवाजलाई सम्मान गरेर वनाइएका सामुदायिक क्वारेन्टाइनहरु निकै अस्तव्यस्त छन् ।

सबै कुराको चेकजाँच गरेर आएको व्यक्ति घरमै सरकारले तोके वमोजिम वस्छु भन्दा पनि किन हामी अवुझ वनेका छौ ? सबैले आफैलाई प्रश्न गर्ने वेला भएको छ । कोरोना संक्रमणबाट सबै सचेत हुनुपर्दछ । हरेक कुरामा ध्यान दिनुपर्दछ । तर सचेत र सुरक्षित हुनुपर्दछ भन्ने नाममा हामीले गरेको अमानविय व्यवहार के उचित छ त ? प्रश्न गर्नै पर्ने भएको छ ।

कसैले केही भन्यो भन्दैमा सरकारलाई धारेहात लगाउनुभन्दा पनि के ठीक र के वेठीक भन्ने कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । हामी आफैमा पनि समिक्षा गर्न सक्ने क्षमता हुनु आवश्यक छ । क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा त्यति धेरै भिन्नता हुँदैन । यो कुरालाई सबैले मनन गर्नुपर्ने देखिन्छ ।

समाजमा सकारात्मक भन्दा नकारात्मक कुराहरु वढि मात्रामा फैलिरहेका छन् । के गर्दा सबैलाई न्याय हुन्छ भनेर सरकारले योजना वनाएको छ तर आफुलाई मात्रै न्याय खोज्नै जमात समाजमा वढिरहेको छ । यसले गर्दा पनि अहिले समस्या आएको देखिन्छ ।

कुरा आजको मात्रै भन्दा पनि समाज अरु कुराको ख्याल नगरेर किन मनगढन्ते कुराका पछाडि दौडिरहेको छ भन्ने हो । तुलसीपुरले कोरोना नियन्त्रणका सन्दर्भमा गरेका कामहरुको अहिले मुलुकभरका स्थानीय तहहरुले सिको गरिरहेका छन् ।

तर कतिपय मनगढन्ते र आलोचनामा रमाउने गरेका छन् । कसले के भन्यो भन्दा पनि वास्तविकता के हो भन्ने वारेमा हामीले सोच्नुपर्ने हुन्छ । भिडमा दौडिएर कहि पनि पुगिदैन । वास्तविक ठाउँमा पुग्नका लागि आफै सोचेर दौडनुपर्दछ ।

लेखक तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता हुन्

प्रतिक्रिया दिनुहोस