लकडाउनमा जन्ती र भोज विना नै विहे

बैशाख १४, २०७७

दाङ– विवाहको लगन जुर्‍यो बैशाख १४ गते। तर, लकडाउन जारी छ। अब कसरी विहे गर्ने ?

नगरपालिकाबाट पास बनाउने । मन्दिरमा सिन्दूर हाल्ने। जन्ती नलैजाने, घरमा भोज नगर्ने। आइतबार यस्तै उपायसहित लमही नगरपालिका वडा नं. ५ निवासी विजय थापा र घोराही निवासी संरक्षा कार्की विवाह वन्धनमा बाँधिए। दुवैको लगन गाँठो मन्दिरमा गाँसियो ।

‘लकडाउनले विवाह पनि प्रभावित भयो। तर, विवाह रोक्ने कुरा भएन’, थापाले भने–‘दुलाह र दुलही पक्षबाट सीमित आफन्तहरुको विचमा विवाह गरियो।’

२०७७ सालको विवाहको लगन वैशाख १३ गते बाट शुरु भएको छ । लकडाउनको विचमा मानिसहरुको जमघट गर्न पाइदैन। यस्तो अवस्थामा विवाह छोट्याएर गर्ने गरेको पुरोहित रामप्रसाद घिमिरेले बताए।

‘भर्खरै लगन शुरु भएको छ। यस्तै छोटो विवाहको लागि सल्लाह दिने गरेको छु’, उनले भने–‘सावधानी अपनाएर विवाहको कर्म अघि बढाउनु पर्छ ।’

छोटो प्रकृयाबाट तडकभडकबिनै सामाजिक दुरी कायम गर्दै लकडाउनमा विवाह गर्न थालिएको छ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले लकडाउनमा भोज भतेर नगरेर पाँचजना व्यक्ति मात्रै जम्मा भएर विवाह गर्न सिफारिस गरिने बताए।

‘सके सम्म विवाह सार्न मिल्छ भने नगर्नुस् भनेका छौं । पहिले नै छिनो फानो भएको छ, लगन यसपटक मात्रै जुरेको छ भने यस्तो अवस्थामा पाँच जना मात्रै भएर विवाह गर्न दिएका छौं’, उनले भने–‘एक जना दुलहा, एक जना दुलही, एक जना पडिण्त र एक–एक जना दुलहा, दुलही पक्षका गरेर पाँच जना जम्मा हुनेगरी विवाह गर्न अनुमति दिएका छौं।’

प्रतिक्रिया दिनुहोस