मुस्लिम समुदायको रमजान सुरु

बैशाख १३, २०७७

इस्लाम धर्मालम्बीहरूको महान पर्व रमजान सुरु भएको छ। शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

बिहान ३:४० बजेबाट बेलुका ६:४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन मुस्लिम समुदायमा छ।

यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको उनले बताए। रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महिना नवौँ महिना हो।

संसारभरि नै कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला यो पर्व पनि प्रभावित भएको छ। आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने चलन छ। तर कोरोना जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ।

रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ।

प्रतिक्रिया दिनुहोस