झोलुङ्गे पुलमा काँडेतार

बैशाख १२, २०७७

 

दाङ– राम विलास यादवको घर बेला गाउँमा पर्छ। उनले भैंसी पालेका छन्। हरेक दिन बिहान उनी दूध बेच्न लमही आउने गर्छन्। तर, हिजोआज उनलाई लमही आउन मुस्किल पर्ने गरेको छ।

लकडाउनका कारण राप्ती नदीको झोलुङ्गे पुल काँडे तार र बाँसले बेरिएको छ। हेरक दिन वारपार गर्नुपर्ने पुलमा बार लागेपछि उनी समस्यामा परेका हुन्।

लमही नगरपालिका वडा नं. ६ मध्यनगरका स्थानीय बासिन्दाले लकडाउन कार्यान्वयन फितलो भएको भन्दै पुलमा काँडेतार लगाएका हुन्  तर, पनि मानिसहरु त्यही पुल भएर आवतजावत गर्ने गरेका छन्।

‘लकडाउनमा हिँड्न नहुने हो। तर न हिँडेर पनि भएको छैन्। खेती किसानी गर्ने मान्छे। दूध बेच्नै पर्‍यो’, यादवले भने, ‘साईकलमा बजार जाँदा आज भोलि साइकल उचालेर काँडेतार पार गर्नुपर्छ।’

राप्ती नदीमा बनेको यो झोलुङ्गे पुलले नदी वारी र पारीलाई जोड्ने काम गरेको छ। गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका मानपुर, बेला, मटेरीया लगायतका गाउँका मानिसलाई लमही आउन सजिलो भएको छ।

तर लकडाउनमा कडाई गर्न पुलमा बार लगाइएपछि पैदल यात्रीलाई समेत पुल पार गर्न समस्या छ।

प्रतिक्रिया दिनुहोस