सञ्चारमाध्यमले कोभिड–१९ को बेला कसरी सहयाेग गर्न सक्छन् ?

बैशाख १२, २०७७

 

 

नोभल कोरोनाभाइरस (कोभिड–१९) को प्रकोपले हाम्रो समुदायमा दोषारोपण र भेदभाव बढाएको छ । कोभिड–१९ सँग सम्वन्धित दोषारोपणको मात्रा यी तीन कुरामा आधारित छन्ः
१) यो नयाँ रोग हो र यसको बारेमा धेरै कुराहरू अझै पनि थाहा छैन ।
२) थाहा नभएका कुराको बारेमा हामी प्राय डराउँछौं ।
३) त्यो डर ‘अरू’ सँग जोड्न सजिलो छ । सर्वसाधारणमा दुविधा, तनाव र त्रास रहेको बुझ्न सकिन्छ ।

दुर्भाग्यवशः यी कारणहरूले हानीकारक रुढिवादी मान्यताहरूलाई बढावा दिइरहेका छन् । दोषारोपण र भेदभावका लागि सबैभन्दा जोखिममा यिनीहरू रहन्छन्ः भाइरसको परीक्षणमा पोजेटिभ देखिएका मानिस र उनीहरूका परिवारहरू विदेशबाट फर्किएका मानिस र उनीहरूका परिवारहरू र यो संकटको बेला अत्यावश्यक सेवा दिनका लागि कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका सेवा प्रवाहकर्ता र उनीहरूका परिवारका सदस्यहरू । मानिसहरू यी व्यक्तिहरूले उनीहरूको समुदायमा रोग फैलाउँछन् भनेर प्रायः डराउने गर्दछन् । हरेक दिन हामीले यी व्यक्तिहरूलाई बहिस्कार गरेको र कहिलेकाहिँ शारीरिक हमला पनि गरेको समाचारहरू सुनिरहेका छौं ।

यो पिडामा पर्नेका लागि मात्र नभइ सबेका लागि हानीकारक छ । दोषारोपण गर्नाले मानिसहरू एक्लिन सक्छन् । विभेदबाट जोगिनका लागि मानिसहरूले उनीहरूको रोग लुकाउन सक्छन् र यसले उनीहरूलाई अत्यावश्यक मेडिकल हेरचाहबाट टाढा
राख्न सक्छ । यसले मानिसहरूलाई स्वस्थ दैनिकी र व्यवहारहरूको पालना गर्न पनि निरुत्साहित गर्न सक्छ ।
पत्रकार र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।

कोरोनाभाइरस र संक्रमण हुनबाट जोगिने उपायको बारेमा सर्वसाधारणलाई सही सूचना तथा जानकारी दिनुका साथसाथै, प्रवाह गरिएको सूचना तथा जानकारीले यो संकटबाट प्रभावित मानिसका विरुद्धमा दोषारोपण र भेदभाव बढाउँदैन भन्ने कुरा सुनिश्चित गर्न पनि पत्रकार र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ । रोग र यसको प्रभाव खुला रूपमा, इमान्दारितापूर्वक र प्रभावकारी रूपमा छलफल र सम्बोधन गर्न सकिने वातावरणको सिर्जना गर्नु जरूरी छ ।

आशाका कथाहरू बाँड्नुहोस्

चिन्ता बढिरहेको समयमा, सञ्चारमाध्यमले सही सूचना प्रदान गर्ने र मिथक र हल्ला चिरेर सही सूचना दिने मात्र नभइ मानवताको सकारात्मक पक्ष प्रस्तुत गर्न पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छन् । यो लकडाउनको सामना गर्दै अन्य मानिसहरूसँग प्रविधीको माध्यमबाट जोडिएका व्यक्तिहरू वा कठीन समयमा जीवन व्यवस्थित गरिरहेका व्यक्तिहरूको कथा र समाचार प्रोफाइल गर्ने समय पनि हो र यसले अरूलाई विभिन्न उपायहरूसँगै राम्रा अभ्यासहरूको बारेमा सूसूचित गराउँछ ।

कोभिड–१९ को संकटको क्रममा दोषारोपण वा भेदभाव भोगेका व्यक्तिको दृष्टिकोणको बारेमा पनि कथा वा समाचार प्रवाह गर्न सकिन्छ । उनीहरूका कथाहरू र तपाईंका शब्दहरूले मानिसहरूलाई दोषारोपण र भेदभावले उनीहरूमा मात्र नभइ समग्रमा समुदायमा पर्न सक्ने वा परेको नकारात्मक असरका बारेमा बुझाउँछ । सहानुभूतिका कथन वा कथाहरू बाँड्नुहोस् जसले नयाँ कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावित मानिस वा समुदायको संघर्ष र अनुभवलाई मानवीय बनाउँछ । यो महामारीको अग्रपंक्तिमा रहेर काम गरिरहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, समुदायका नेतृत्व, सुरक्षाकर्मी, इत्यादि) लाई सहयोग र प्रोत्साहन हुने गरी सञ्चार गर्नुहोस् ।

यो हामीलाई एकताबद्ध बनाउने, सहयोगका ससाना गतिविधी र मानिसहरूले एक अर्कालाई कसरी सहयोग गरिरहेका छन् भन्ने कथा र समाचार बाँड्ने समय हो ।

गोपनीयताको सम्मान गर्नुहोस्

कोभिड–१९ को परीक्षण गर्दा पोजेटिभ देखिएका व्यक्तिहरू र उनीहरूको परिवार, सहकर्मी र साथीहरूको गोपनीयताको सम्मान गर्नुपर्छ । अनुमतिविना उनीहरूको नाम, ठेगाना, पारिवारिक पृष्ठभूमि, व्यक्तिगत र मेडिकल रेकर्डको सूचना खुलासा गर्ने वा संकेत दिने पनि गर्नुहुँदैन ।

कहिलेकाहिँ सानो समुदायमा बस्ने मानिसहरूको स्थान, समुदाय वा गाउँको नाम उल्लेख गर्दा मात्र पनि उनीहरूको परिचय खुलासा हुन सक्छ ।विरामीको फोटो वा भिडियो पनि अनुमतिविना प्रकाशन वा प्रसारण गर्नुहुँदैन ।

भेदभाव नगर्नुहोस्

कसैको उमेर, लिंग, जातीय पृष्ठभूमि, धर्म, कानूनी अवस्था, अपांगता, बैबाहिक अवस्था, रोगलगायतका कुरा समाचारसँग प्रत्यक्ष रूपमा सम्वन्धित भएमा मात्र उल्लेख गर्नुपर्छ । असान्दर्भिक रूपमा उल्लेख गर्नाले दोषारोपण र विभेद सिर्जना गर्न सक्छ । कोभिड–१९ लाई कुनै पनि स्थान, देश र क्षेत्र, राष्ट्रियता र जातसँग नजोड्नुहोस् । भाइरसले जुनसुकै सामाजिक र आर्थिक अवस्था, राष्ट्रियता, वर्ण, जात, धर्म वा
लिंग भएको मानिसलाई असर गर्न सक्छ।

सनसनी नफैलाउनुहोस्

हानीकारक हुने गरी कुनै पनि विषयलाई सनसनी बनाउने प्रलोभनबाट टाढा रहनुहोस् । सनसनीपूर्ण भाषा र तस्वीरहरूले अनावश्यक तनाव सिर्जना गर्नुका साथै थप डर फैलाउन सक्छ । कोभिड–१९ को बारेमा सञ्चार गर्दा र समाचार बनाउँदा भेदभावपूर्ण, अपमानजनक, धम्कीपूर्ण र सनसनीपूर्ण भाषा र स्वर प्रयोग नगर्नुहोस् । साथै, समाचार वा लेखमा पाठकलाई तान्नका लागि सनसनीपूर्ण हेडलाईन प्रयोग नगर्नुहोस् ।

 

सकारात्मक रोल मोडललाई प्रस्तुत गर्नुहोस्

लक्षण हुन सक्ने व्यक्तिहरू परीक्षणमा नआएको वा यस्तै खालका नकारात्मक समाचारहरूको सट्टामा सञ्चारमाध्यमले विदेशबाट फर्केर सेल्फ क्वारेन्टिनमा बसिरहेका व्यक्तिहरू (उनीहरूको अनुमतिसहित) वा स्वास्थ्यकर्मीहरूलाई सकारात्मक रोल मोडलको रूपमा चित्रण गरी समाचारहरू प्रस्तुत गर्न सक्छन् । यी व्यक्तिहरूको समाचार, सवाल र चुनौतीहरूलाई चित्रण गर्नाले सञ्चारमाध्यमले मानिसहरू दोषारोपण वा भेदभावको डरविना नै सहज रूपमा उनीहरूको लक्षणहरू बताउन सक्ने वातावरण सिर्जना गर्न सक्छन् ।

दोष नलगाउनुहोस्

मानिसहरूले “कोभिड–१९ सार्ने”, “अरूलाई सार्ने” वा “भाइरस फैलाउने” जस्ता शब्दहरू प्रयोग नगर्नुहोस् किनभने यसले नियतवश संक्रमण फैलाएको भन्ने अर्थ लाग्दछ र दोष देखाउँछ । यसको सट्टामा मानिसहरूमा कोभिड–१९ “भएको” वा “संक्रमण भएको” भन्नुहोस् । साथै, यो रोग भएका मानिसलाई “कोभिड–१९ केसहरू” वा “पिडितहरू” नभन्नुहोस् साथै, “कोभिड–१९ का शंकास्पद” वा “शंकास्पद केसहरू” को प्रयोग नगर्नुहोस् । यसको सट्टामा “कोभिड–१९ भएका वा हुन सक्ने व्यक्ति”, “कोभिड–१९ को उपचार गराइरहेका व्यक्ती”, “कोभिड–१९ बाट निको भइरहेका व्यक्ति” वा “कोभिड–१९ को संक्रमणपछि मृत्यु भएका व्यक्ति” भन्नुहोस् ।

 

 

प्रतिक्रिया दिनुहोस