आमा समान अरु तीर्थ कुनै हुँदैनन्

सन्दर्भ : आमाको मुख हेर्ने दिन

बैशाख ११, २०७७

वैशाख कृष्णपक्ष अमावस्या तिथि, माता तीर्थस्थान, आमाको मुख हेर्ने दिन।  २०७७ सालको पात्रोमा वैशाख ११ गते औंसी अर्थात् आमाको सम्मान गर्ने दिन।

पूर्वीय शास्त्रले पहिले आमा, यसपछि पिता र गुरुको सम्मानको श्रेणीमा राखेको छ। आफ्नो जन्मभूमि र जन्मदिनेको आमाको सम्झना गर्ने दिन हो आज।

गृहस्थ परिवारमा सबैभन्दा प्यारो शब्द हो आमा। लामो या छोटो यात्राबाट घरमा प्रवेश गर्दा छोराछोरीले पहिले बोलाउने नाम हो आमा। घरबाट निस्कँदा पनि म हिँडेँ।

घर प्रवेशको अनुमति र घरबाहिर निस्कँदा पनि आमाको स्वीकृति अनिवार्य छ हाम्रो संस्कारमा। त्यसैले पात्रोमा पहिलो महिना बैशाख कृष्णपक्षको अमावस्या आमाको मुख हेर्ने विशेष दिन तय भएको हो।

२०७२ साल वैशाख १२ गते वैशाख शुक्लपक्षको गंगा सप्तमी शनिबारको दिन ११ः५६ को समय नेपाली धर्तीमा प्रकृति थर्कमान भएको दिन हो। मैले पनि उक्त दिन आमाको काख गुमाएँ, मातातीर्थ औंसीका दिन उहाँको अमीट सम्झना आइरहेका छन्।

सम्पूर्णानन्द विश्वविद्यालय काशीमा अध्ययन गर्दा आचार्य पं.देवराज पौडेलले हरेक दिन बिहानी कक्षा सुरु गर्दा हामीले पाँच मिनेटसम्म दुवै आँखा बन्द गरेर आमाको स्मरण गराउन लगाउनु हुन्थ्यो। हामी नेपाल, भारत र भुटानका विभिन्न भागबाट पढ्न गएका छात्र थियौं।

बाबु परदेशमा रहँदा आमालाई पहिले सम्झनुपर्छ भन्दै गुरुले हामीलाई यही श्लोक पढ्न लगाउनु हुन्थ्यो। कक्षा सुरु हुनुभन्दा पहिलो हामीले पाठ गर्ने श्लोक।
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुश्च सखा त्वमेव।
त्वमेव विद्या द्रविण त्वमेव
त्वमेव सर्व मम देवदेव ।।

आचार्य पौडेलले भन्नुहुन्थ्यो- हरेक दिन बिहान आमालाई सम्झेर पढ्न शुरु गर्‍यौं भने मीठो मीठो खान पाइन्छ र, दिन पनि सफल हुन्छ। हामीले गुरुका वचन मानेर पढ्ने हामीलाई मीठा खान पाइने विश्वासमा आमाको सभ्झनामा दिनहरु बिताउने गरेका थियौं। मीठो खान पाएको दिन आमाको आशिर्वाद सम्झना हुने गर्थ्यो।

गुरुकुलको नियम थियो- दिनभर अध्ययन पनि साँझ स्तोत्ररत्नावलीको देव्यपराधक्षमापनस्तोत्रम् पाठ गर्दा हामीले अलि ठूलो स्वरमा भन्ने गरेका थियौं।
कुपुत्रो जायेत क्वचिदपी कुमाता न भवति।

(अर्थ आफ्ना सन्तान कुपात्र भए पनि आमा चाहिँ कुमाता हुन सक्दिनन्)

क्षति नसोचेकोभन्दा बढी भयो होला भन्दै पराकम्पन झेल्दै थिएँ। पटक–पटक गाउँमा टेलिफोन सम्पर्क गरे। परन्तु, आमाको बारेमा स्पष्ट जानकारी पाउन सकिनँ।

आमाका बारेमा काव्य, कविता, निबन्ध र कथा लेखिएका छन्। आमा धर्ती हुन्, आमा देवी हुन् र, साक्षात भगवान आदि–इत्यादि आमाको बारेमा कैयौं शब्दहरु खर्चिएका छन् साहित्य र शास्त्रहरुमा। पूर्वीय र पश्चिमी शिक्षामा आमाका बारेमा विवाद पनि छैन, आमाले आफ्नो दायित्व र कर्तव्य पनि भुलेका छैनन्।

जुन घरमा आमा अर्थात् नारी जातिको पूजा हुन्छ, भगवानले पनि म त्यही घरमा मात्र बास गर्छन् भन्ने शास्त्रीय भनाइ छ।

शास्त्रीय र व्यावहारिक जीवन संघर्षको दौडमा हुइँकिँदै थिए। यात्रा र अध्ययन जीवनको मूल पाठ बनेको थियो। दिनदिनको पत्रकारिता र अध्ययनलाई थाँती राखेर नेपाल र भारतका तीर्थयात्राको प्रबन्ध मिलाउँदै आफ्नो सक्रिय व्यवसायी जीवनमा उकालो उक्लदै थिएँ। एक्कासि २०७२ साल वैशाखमा प्रलयकाल बनेको भूकम्पले उत्साह र जाँगरलाई थचक्क बसाइदियो।
पहिलो हप्तादेखि मनमा अनेकौं बेचैन शुरु भएको थियो। नयाँ वर्षको पात्रो पल्टाएर आफ्नो र वर्ष फलहरु अध्ययन गर्दै थिए।

संकट आउँदै छन् वर्षमा भनेर गणित गदै थिए। वैशाख १२ गते ११ः५६ को समयमा धर्तीमा कम्पन भयो।
हाहाकार हुन थाल्यो, मनले केही सोच्न सकिनँ। त्यस शनिबारको दिन बिहान नियमित पाञ्चायन पूजामा पनि मन स्थिर थिएन। भक्तपुरको कौशलटारमा अस्थायी बसोबास थियो।
त्यस दिन कार्यालय ठमेल जाने कि नजाने भनेर प्रश्न उठेको थियो। ११ बजेतिर मोटरसाइकल चढेर ठमेल जान कोटेश्वर पुगेको थिए, अगाडि बढ्न सकिनँ।

एक्कासि शरीरमा बिसन्चो भएको अनुभव भयो। कोटेश्वरबाट पुनः बासस्थान फर्किए।
मनमा अनेक प्रश्नहरु खेल्दै थिए। होइन, मलाई के भयो आज भनेर परिवारसँग साटासाट गरौं कि नगरौं भन्दै थिए।
मध्याह्न हुँदै थियो। धर्ती कम्पन हुन थाल्यो, भुइँचालो भुइँचालो आयो, आयो भन्दै चिच्चाउँदै मानिसहरु बाहिर निस्कन थाले।
खाली ठाउको खोजीमा सडकतिर दौडिए। म पनि जेठो छोरो, श्रीमती, कान्छो छोरो च्यापेर हामी सडकमा निस्कियौं।

त्यसैबेला गाउँमा आमाको के भयो होला भन्ने सम्झना भयो। आमालाई शहरभन्दा गाउँ रमाइलो थियो। आमाको जन्मघर माइतीमा ठूलो मामा र आमा मात्र गाउँमा बस्ने।
मैले सम्झिएँ– आमालाई त केही भएको छैन होला, तर घरचाहिँ भत्कियो होला। टेलिफोन काम गरेनन्। भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक भन्ने थाहा भयो।
गोरखा र धादिङ त जोडिएको जिल्ला हो। हाम्रो गाउँ सल्यानटारको राम्चे डाडाँबाट नक्सा देखिन्छ भूकम्पको केन्द्रविन्दु बारपार्क।

क्षति नसोचेकोभन्दा बढी भयो होला भन्दै पराकम्पन झेल्दै थिएँ। पटक–पटक गाउँमा टेलिफोन सम्पर्क गरे। परन्तु, आमाको बारेमा स्पष्ट जानकारी पाउन सकिनँ।
टेलिफोन सम्पर्क हुन पनि मुस्किल भयो, सम्पर्क भएका बेला सिँगो गाउँमा कसैको पनि घर सग्लो छैन भन्ने समाचार सुनेँ।

मानिसहरु भागाभागको अवस्था र जनहरुका मृत्युका खबर सुन्दै गएँ। आमाको खोजी भयो, कसैबाट पनि थाहा नभएपछि मनमनै प्रार्थना गरेँ।
मेरो आमा भाग्नुभएको भए दुई दिनसम्म त सम्पर्कमा आउनुहुन्थ्यो नि! कतै आफैंले बनाएको घरभित्र लीन त हुनभएन भन्ने आंशका गरे।
त्यस रात सपनामा आमाले ‘मैले त जन्मघरमा प्राण त्याग गरेँ, तिमीहरु सञ्चै छौं’ नि सन्देश दिनुुभयो। म एक्लै बर्बराएछु।
भूकम्प र त्यसपछिका पराकम्पले म अचेत र कुनै कुरा सोच्नै नसक्ने अवस्थामा थिएँ। त्यो बेला कसले कसलाई सान्त्वना दिनु र!

दुःखका बेला साथ दिने आफन्त र मित्रजन कोही कसैसँग सम्पर्क भएन। मेरी आमालाई भूकम्पले लगेर गयो होला भन्ने कुरामा मानसिक रुपमा तयारी भएँ। तर, त्यहाँसम्म पुग्ने सवारी साधनको व्यवस्था गर्न सकिनँ।

म गाउँ जान्छु भन्दै थिएँ। परिवारका सदस्यहरुले कोलाहल गरे। हामी पनि साथमा जान्छौं भनेपछि दुई छोरा र श्रीमतीको साथमा आमाको क्रियाकर्म गर्न गाउँ हिँड्यौं।
भूकम्पले ठूलो छोरा निकै अतालिएको थियो। कान्छो चाहिँ सानो भएर होला, हँसिखुसी नै थियो।

काठमाडौंको कंलकीबाट पर्यटक बसमा मलेखुसम्म गयौं। त्यसपछि धादिङबेसी सदरमुकाम पुग्यौं।

त्यहाँ पुगेर क्रियाकर्मका सामग्री खरिद गरी म गाउँ पुगे। गाउँमा पुगेर आफ्नो रीतिरिवाज अनुसार संकटका बेला गर्नुपर्ने क्रियकर्ममा सहभागी भएँ। केही आफन्तले सान्त्वना दिँदै थिए। केहीले शोकमा पनि अनेकौं सल्लाह दिए। तर, मैले आफूले गर्नुपर्ने नियम अनुसार कर्तव्य पूरा गरेँ।

उँ–बस्ती उजाड थिए, सबैजन शोकमा थिए, गाउँका सबैका अनुहार मलिन थिए। त्यतिबेला मलाई महात्मा विदूरको नीति स्मरण भयो। शोक समाधानको उपाय होइन। शोक गरेर मात्र हुँदैन। करिब एक महिना गाउँमा बसेँ। आफ्ना जिम्मेवारी पूरा गरेँ।

मन र मस्तिष्क कमजोर भएको थियो, समस्याको बीचमा दृढ भई आत्मबल दह्रो बनाएर हिँडनुपर्छ भन्ने मनोबल बनाएँ, भूकम्पले लुछेको माया विस्तारै विस्मृततुल्य हुँदै गयो।

महाविपत्तिमा मैले मेरो आमा मात्र गुमाएको होइन। मैले जस्तै कतिले आमा, छोरा, छोरी, श्रीमती, दाजु, भाइ गुमाएकोे खबर निरन्तर आयो, मैले आफूलाई शान्त राख्न खोजेँ।
प्रकृतिको विपत्तिमा कसैलाई पनि दुःख नदिई आमाको मृत्युमा मैले शोक गर्नुभन्दा पनि आत्माको शान्तिको कामना गरेँ।

श्रीमद्भागवत महापुराणमा कपिलमुनि माता देवहूतिको प्रसंग निकैपटक पढेको र सुनेको थिएँ-
योग अध्यात्मिकः पुंसा मतो निःश्रेयसाय मे।
अत्यन्तोपरतिर्यत्र दुःखस्य च सुखस्य च।
श्रीमद्भागवत ३।२५।१३

अध्यात्म योग नै मानिसलाई मोक्ष प्रदान गर्ने मुख्य साधन हो। योगद्वारा नै दुःख सुख दुवैको राम्रोसँग अनुभव गर्न सकिन्छ।
ज्ञान, भक्ति र कर्म योगको बारेमा आमा छोराको संवाद मनैमनै गुने र आनन्दित भएँ।

शनिले संकट तथा प्रकृति प्रहारक महाभूकम्पले आमाको काख र माया खोसेर लगेपछि विलखबन्दमा परेँ। आफूले अँगालेको पर्यटन व्यवसायमा पनि शून्यता छायो।
लगभग एक वर्षसम्म पूजा, मन्दिर दर्शन आदि सबै स्थगित भएँ। मनलाई सम्हाल्नका लागि योग र ध्यानको सहायता लिएँ।

मन र मस्तिष्क कमजोर भएको थियो, समस्याको बीचमा दृढ भई आत्मबल दह्रो बनाएर हिँडनुपर्छ भन्ने मनोबल बनाएँ, भूकम्पले लुछेको माया विस्तारै विस्मृततुल्य हुँदै गयो।

परन्तु, हरेक बर्ष नयाँ सालको पात्रो र वैशाख १२ गते चाहिँ मनमा धेरै प्रश्न उठ्छन्।

भूकम्पले आमाको काख खोसे पनि हरेक दिन पढ्न बस्दा आमाको सम्झना गरेर मात्र दिनको सुरुआत गर्ने गुरु वचनलाई शिरोधार्य गर्न मैले छाडेको छैन।
हार्दिकता, माया, सद्भाव, दुःख र सुखको सारथी हरेका व्यक्तिको जीवनमा आमाको भूमिकाले जीवन सार्थक भएको हुन्छ। आमा शिक्षित हुँदा मात्र छोरा, छोरी, बुहारी र परिवार नै शिक्षित हुन सक्छन्।

आज आमालाई सम्झने दिनको अवसरमा सबै आमाले यही भन्नुहुनेछ।
आफ्ना सन्तान कुपात्र भए पनि हामी आमाहरु कुमाता चाहिँ हुन सक्दैनौं।
आमा समान अरु तीर्थ कुनै हुँदैनन् ।
द्यौता पनि जननीतुल्य बडा हुँदैनन् ।।
माता छँदा घर तपोवन तुल्य हुन्छ ।
आमा विना परश शून्य र उराठ हुन्छ ।
(गुणरत्नमाला)
परमात्माले आमा खोसेर लगे पनि आमालाई सबैले सम्झेका हुन्छन्। आमाले दिएको उपदेश र आमाको माया भन्दा कसैले पनि कसैलाई माया गर्न सक्दैनन्।

प्रतिक्रिया दिनुहोस