‘जनता समाजवादी पार्टी’ले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

बैशाख ११, २०७७

 

 

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिइएको छ। दुबै पार्टीका शीर्ष नेताहरु बिहीबार निर्वाचन आयोगमा गई पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। उनीहरुले दुबै पार्टीको तर्फबाट भएको सहमतिपत्रसँगै निवेदन दिएका थिए। उक्त निवेदन १३८८‍औं नम्बरमा दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ।

दुबै पार्टीले बुधबार मध्यराति पार्टी एकीकरणको घोषणा गरेका थिए। निर्वाचन आयोगमा समाजवादीका तर्फबाट उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राजपाका तर्फबाट राजेन्द्र महतो र शरद सिंह भण्डारी सहभागी भएका थिए।

बुधबार राति समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्‍ताक्षर गरेका थिए। शरत सिंह भण्डारी निवासमा ४ बुँदे समतिपत्रको ड्राफ्ट तयार पारी बुधबार राति पार्टी एकीकरणको घोषणा भएको थियो।

सहमतिअनुसार दुई पार्टीबीच समानताका आधारमा एकीकरण गर्ने, एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने, एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकारमा रातो र हरियो रङको बीचमा तारा हुने र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता चिन्ह प्रयोग गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस