घर नै पाठशाला

बैशाख १०, २०७७

विश्वभरि कोरोनाको डढेंलो लागेको बेला छ । कोरोनाको त्रासले शैक्षिक संघसंस्थाहरु पनि ठप्प छन् । राष्ट्रिय स्तरमा विद्यालयहरु बन्द गरिनाले संसार भरका १५ करोड ७० लाख, अर्थात लगभग ९१ प्रतिशत विद्यार्थीको पढाईमा अवरोध आएको तथ्यांक युनेस्कोले सार्वजनिक गरेको छ ।
त्यसै गरि नेपालमा पनि ७० लाख भन्दा बढि बालबालिकाहरुको पढाईमा अवरोध आएको छ । सिकाइबाट बन्चित भएका छन् । घरभित्रै छन् । यो समय कसैका लागि सहज भने छैन ।

“घरमा बालबालिकाहरु त्यसै बस्नु भन्दा केही सिके हुन्थ्यो ? स्कुल बन्द भएर सिकाइ अवरुद्ध भयो । लौन के गर्ने होला?”भन्ने पीरले अभिभावकको मन भारी भएको छ । शिक्षकलाई तुलनात्मक रुपमा शितलता मिलेको छ । कम्तिमा घरै बसेर पनि तलब त आइ रहेको छ । यसको मतलब शिक्षकहरु खुसीले नाँचेका छन् भनेको होइन । अभिभावकलाई जति बेचैनी छ त्यति शिक्षकलाई छैन ।
यो पीरको विऊ रोप्ने तपाई हामी अभिभावक र शिक्षक नै हौं । सिकाउने शैलीले सिकाइको घेरो निर्धारण गर्छ । हामी माझ सिकाउने शैली साँघुरो छ । इनार जस्तो ।

बालबालिकालाई विद्यालय पठाइ दिएपछि जिम्मेवारी पुरा भएको सास फेर्ने अभिभावक । पाठ्यपुस्तक रटाउने र वर्ष कटाउने चक्करमा जिन्दगी खियाउने शिक्षक । हामी सोच्छौं,“सिकाइ स्कुलमै हुन्छ । सिक्न स्कुलै जानुपर्छ । शिक्षकबाट मात्रै सिकिन्छ । किताबभित्रै छ ज्ञानको ज्योति ।”हामी यही हिन ग्रन्थीका सिकार भएका छौं । सिक्नका लागि विद्यालय जानै पर्ने । ज्ञान भनेको विद्यालयको चौघेरमा टाँसिएको हुन्छ । जहाँ शिक्षकले विद्यार्थीको खोपडीमा जादु गरेर भरिदिन्छ । हाम्रो सोचाइको पर्खाल र आकांक्षाको दायरा यो भन्दा पर छैन । परको कुरा गर्दा झन्झटीलो र अपत्यारीलो लाग्छ ।

शिक्षकले समुह पाठ पढाउँदा अभ्यासमा दिइएको प्रश्न हल गर्ने ठेक्का लिएको सम्झन्छ । समुह भान्सामा छ । करेसाबारीमा छ । समुह पसलमा छ । जंगलमा छ । पाठ्यपुस्तक बाहिर निस्कन शिक्षकले साहस नै गरेन । फराकिलो हुन सुझाव सुन्ने बित्तिकै शिक्षक कोर्स सकाउने चिन्ता पोख्छ । आफुले पढाएको पाठले विद्यार्थीको घर, आगन, चुलो, चौतारो छोयो कि छोयो न ? शिक्षकलाई मतलब भएन । यस्तो तरिकाले सिकारुको जिज्ञासा, सोधखोज, कल्पना मारिदियो ।

जिज्ञासा र कल्पना मरेको विद्यार्थीकोले सोच्न थाल्छ, “ज्ञान त पाठ्यपुस्तक घोके पछि मिल्छ । शिक्षा त कक्षाकोठा मै छ । शिक्षकको मुखाग्रबाट टिपेको शब्दमात्रै शिक्षा । घरमा के सिकिन्छ र ?”

उस्लाई चुलो बाल्न अल्छि लाग्छ । बारीमा विरुवा रोप्नु पुरातन लाग्छ । आँगन बढार्नु असभ्य लाग्छ । घर त भोक, रोग, शोक र निद्राको स्थलमात्रै बन्यो । पाठशाला बनेन । बनाउने वातावरण बनाएनौं । नानीबाबुहरु हो “तिम्रो भान्साकोठामा प्रयोग भइरहेका भाँडाहरुको वर्गिकरण गरेर ल्याऊ? तिम्रो छिमेकमा फलिरहेका अन्नको समुह बनाऊ ? नजिकको तिम्रो जंगलमा देखिने चराहरुको समुह बनाऊ ?” भनेर कतिजना गणित शिक्षकले कक्षाकोठामा छलफल गरेका छौं ? कतिले यस्तो होर्मक दिएका छौं र ? कतिले परिक्षामा यस्ता प्रश्न सोधेका छौं र? मेरो अनुभवमा हामीले गरेकै छैनौं ।

अंग्रेजी, सामाजिक, विज्ञान लगाएतका कुनै पनिविषयलाई शिक्षकले घरसँग । बच्चाको जिन्दगीसँग । अभिभावकको कथासँग जोडेको पाईदैन । शिक्षकले पाठ भट्याउँदै र विद्यार्थीले हाई काड्दा काड्दै शैक्षिक सत्रहरु बित्छन् ।
विद्यार्थीले नाँच्नु । आफ्नो भावना लेख्नु । खेल्नु । उफ्रिनु । झगडागर्नु । निहुँ खोज्नु । विरामी हुनु

सिकाइ भएन । घटना र भोगाइ भित्र सिकाइ खोजिएन । किताबको परिभाषा लेखे मात्र सिकाइ नत्र बिताई भन्ने मनोविज्ञानले गर्दा हाम्रा घरहरु सिकाइका केन्द्र बनेनन् । अभिभावकहरु विश्वासका पात्र बन्न सकेनन् । विद्यार्थीहरु सृजनशिल हुन सकेनन् ।

घरमा के भइरहेको छ ? देशमा के भइरहेको छ ?विश्वमा के भइरहेको छ ?किन यस्तो भइरहेको छ ?यसको असर कहाँकहाँ परिरहेको छ ? महामारीका इतिहासहरु के कस्ता छन् ? भइरहेका घटनाप्रति प्रश्न गर्ने । र खोज्ने । के ? किन ? कसरी ?सोच्ने बुद्धी कक्षाकोठा हामीले सिकाएका कै छैनौं । पाठ घोक्ने र झोलाबोक्ने बाहेक अरु सीप विद्यार्थीले सिक्ने अवसर नै पाएनन् । शिक्षकले निरन्तर निगरानी गरे सिकाइ हुने नत्र नहुने मान्यताको पहिरोमा हाम्रो सिकाइ पुरीयो ।

लकडाउनमा विद्यार्थीको सिकाइ रोकिएको होइन । कोरोनाले सिकाइ छेकेको छैन । हाम्रो सिकाउने तरिका र विश्व हेर्ने दृष्टिकोणले रोकेको हो । किताब भन्दा बाहिरका घटनामा सिकाइ नदेख्ने । सिकाइ नखोज्ने । सिकाइ नसोच्ने मानसिकता रहदासम्म घर सिकाइका केन्द्र बन्न सक्दैनन् । महामारीहरु तथा विपत्तिहरु शिक्षा दिने स्रोत बन्न सक्दैनन् । बालबालिकाले पाएका छुट्टीहरु । विदाहरु सिकाइका लागि प्रयोगशाला बन्दैनन् । आविस्कारका अवसर बन्दैनन् ।

हाम्रो सिकाउने शैली निकै साँघुरो रहेछ । जुन कोरोनाले पुष्टि गरिदिएको छ । त्यति मात्रै होइन कोरोनाले विद्यालय र समुदायबिचको ठुलो खाडलको चित्रण पनि गरिदिएको छ । घरसँग सिकाइ नजोडिदाको सकस हो यो । जिन्दगीसँग सिकाइ नगाँसिदाको कहर हो । कोरोनाको होइन ।

प्रतिक्रिया दिनुहोस