सामुदायिक होम क्वारेन्टाइनमा १५सय किलो चामल

बैशाख ०, २०७७

 

शालिकराम मुसाफिर

बैशाख ९, लहलौरा । कोरोनाभाइरस (कोभिड–१९) को प्रकोपलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्दै तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले स्थापना गरेको वडा स्तरको सामुदायिक होम क्वारेन्टाइनका लागि स्थानीय दाताबाट १५ सय के.जी. चामल प्राप्त भएको छ ।

तुलसीपुर–१६ मा रहेको एम.टी. फिक्स चिम्नी इट्टा उद्योगका मधुसदन खत्रीले चार क्विन्टल, सार्थक चिम्नी इट्टा उद्योगका देवेन्द्र के.सी.ले दश क्विन्टल, प्रेमलाल खत्रीले १ क्विन्टल चामल उक्त क्वारेन्टाइनका लागि सहयोग गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र के.सी. जानकारी दिए ।

बैशाख ७ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार वडामा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयमा हाल २० जना व्यक्ति बस्न सक्ने गरी वडा स्तरको सामुदायिक होम क्वारेन्टाइन स्थापना गरिएको थियो ।

 

वडास्तरको सामुदायिक होम क्वारेन्टाइमा १० जना जिल्ला बाहिरबाट आएका नागरिकहरु बस्दै आएका छन् । त्यहाँ बस्ने सबै व्यक्तिहरुलाई वडा कार्यालय तथा स्वास्थ्य महाशाखा तुलसीपुरले आवश्यक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको वडा अध्यक्ष भूपबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस