मुम्बईमा ५३ जना पत्रकारमा कोरोना संक्रमण

बैशाख ०, २०७७

 

भारतको मुम्बई सहरमा मात्र ५३ जना पत्रकारमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको पाइएको छ। अमेरिकी समाचार संस्था सिएनएनले गत साता परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गरेको छ।

गत साता मुम्बईमा कार्यरत १ सय ६७ जना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो, जो कोरोना भाइरसको स्थलगत रिपोर्टिङ गरिरहेका थिए। उनीहरुमध्ये ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सिएनएनले जनाएको छ। कोरोना भाइरस देखिएका पत्रकारहरुलाई अहिले आइसोलेसनमा राखिएको छ।

कोरोना भाइरसको संक्रमण देखिएका पत्रकारहरुमा सम्वाददाता, क्यामरापर्सन र फोटोग्राफर रहेका छन्।

‘इलेक्ट्रोनिक मिडियामा काम गर्ने ५० जनाभन्दा बढी पत्रकार खासगरी क्यामरापर्सनमा कोरोना भाइरस देखिनु अचम्मलाग्दो कुरा हो। प्रत्येक पत्रकारले उचित ध्यान दिनुपर्छ,’ भारतका वातावरण, वन तथा जलवायु परिवर्तन, सूचना तथा प्रसारण मन्त्री प्रकाश जाभेदकरले ट्वीटरमा लेखेका छन्।

मुम्बईको प्रेस क्लबले महाराष्ट्रका मुख्यमन्त्रीलाई पत्र लेखी पत्रकारहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। क्लबले पत्रकारितालाई अत्यावश्यक सेवाभित्र राखी पीडितलाई ५० लाख भारतीय रुपैयाँ उपलब्ध गराउनसमेत अनुरोध गरेको छ।

‘महामारीले मर्ने कुनै संकेत देखाउँदैन र पत्रकारहरु जनतालाई समाचार र सूचना प्रवाह गर्न बाध्य हुन्छन्। हामीमध्ये कोही कोहीले घरबाट काम गर्ने अवसर पाएका छौं। धेरै पत्रकारहरु अझै बाहिर निस्केर रिपोर्टिङ गर्न बाध्य छन्। महामारी चलेको र खतरनाक ठाउँहरुमा रिपोर्टिङ गर्ने पत्रकारलाई तत्काल सुरक्षाको आवश्यकता छ,’ प्रेस क्लबले लेखेको पत्रमा उल्लेख छ।

मुम्बई महाराष्ट्र राज्यको राजधानी हो। भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र र त्यसमा पनि मुम्बई रहेको छ। मुम्बईमा ४ हजार ६ सय ६६ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय ३२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस