भोक र प्यासको ‘ट्रान्जिट’ तुलसीपुर, मनकारीहरुले खुवाए अलपत्रलाई खाना

मनकारीकाे मन

बैशाख ०, २०७७

धादिङ्गबाट ४ दिनमा कहि हिडेर कहि गुडेर तुलसीपुर आइपुगेपछि छत्रेश्वरी गाउँपालिका ६ रानागाउँका प्रेम ठकुरीको अनुहार एकाएक उज्यालो भयो । ६ जनाको नेतृत्व गरेका ठकुरीले चाउँचाउँ र चिउराको भरमा छाक टार्दै आएका थिए । ‘भात खान पाउँदा साह्रै खुसी लाग्यो’ ४ दिनपछि वल्ल उनले पेटभरि खान पाएका थिए ।

अलपत्र यात्रुको व्यवस्थापनमा जुटेकाहरुले उनीहरुको भोक र प्यास मात्रै मेटेनन् , घरसम्म जाने गाडीको जोहो समेत गरिदिए ।

तनहुँबाट ३ दिनमा आइपुगेका सिद्धकुमाख गाउँपालिकाका भरत परियार पनि कहि गुड्दै कहि हिड्दै ५ जनाको समुह ल्याएर तुलसीपुर आइपुगे । लमही नगरपालिकाले गाडी चढाउँदै तुलसीपुरमा खानाको व्यवस्था गरेको छ भन्ने सुनेपछि उनको ३ दिनदेखिको भोक र प्यासले सान्त्वना पाएको थियो ।

‘यति राम्रो व्यवस्था छ भन्ने कुरा वल्ल थाहा भयो, आफ्नै ठाउँमा आएजस्तो भयो‘ उनले भने ।

विभिन्न ठाउँबाट आउँने अलपत्र यात्रुहरुले अचेल तुलसीपुरको समिक्षालय भरिभराउँ हुन्छ । दैनिक सयौको संख्यामा आउने मान्छेहरुलाई खाना खुवाउनका लागि यहाँका जनप्रतिनिधि, व्यवसायीदेखि विभिन्न संघसंस्थाका प्रतिनिधिहरु निरन्तर लागिरहेका हुन्छन् । केयौ दिनदेखिको भोक र प्यासले गलेकाहरु खाना थपिथपि खाइरहेका हुन्छन् ।
‘लकडाउन लामो भएपछि बाटोबाट आउनेहरुलाई केही सहयोग गर्न सकियोस् भनेर यो अभियान सुरुवात गरिएको हो’ अभियन्ता विमल रिजालले भने ।

उनले स्थानीय सरकार र विभिन्न संघसंस्थाको सहयोगमा अभियान सञ्चालन भइरहेको पनि वताए । ‘भोक र प्यास मेटाउने हाम्रो अभियानको मुल उद्देश्य हो’ रिजालले भने ।

समिक्षालयमा विहान सबेरैदेखि साँझ अवेरसम्म पनि यात्रुहरु आइरहेका हुन्छन् । सबैलाई सामाजिक दुरी कायम गरेर स्वयम्सेवकहरु तम्तयार भएका हुन्छन् । शनिवारबाट सुरु भएको अभियानमा मंगलबार विहानसम्म करिव ८ सय जनाले खाना खाइसकेका छन् ।

‘खाना खुवाउनुका साथै ज्वरो मापन गरिनुका साथै मास्क वितरण समेत भइरहेको छ ’ जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

यहाँ आउनेहरुलाई खाना मात्रै नभएर गन्तव्यसम्म पुर्याउनका लागि समेत यहाँका यातायात समितिहरुले सहयोग गरिरहेका छन् । ‘विभिन्न स्थानीय सरकारसँग समन्वय गरेर गन्तव्यसम्म पुर्याउने काम भइरहेको छ ’ त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

उनले सम्वन्धित पालिकासम्म निशुल्क रुपमा पुर्याउनका लागि सहयोग गरिरहेको वताए । ‘संकटको घडीमा हामीले सहयोगका लागि पहल गरेका हौ’ उनले भने ।

अभियान सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिका, वडा नम्वर ५ कार्यालय, तुलसीपुर उद्योग वाणिज्य संघ, रोटरी र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटी, तुलसीपुर जेसिज, त्रिसिद्धेश्वरी राप्ती प्राली, लायन्स क्लव, लियो क्लव लगायतका विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । गणेश टेन्ट हाउँसले सम्पूर्ण टेन्टको जिम्मा लिएको छ ।

सबैले सानो सानो सहयोग गर्दा भोकाएकाहरुको पेट भर्न सकिन्छ भन्ने सोचले अभियान सञ्चालन गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले जानकारी दिए । तुलसीपुरमा खाना खुवाइन्छ भन्ने थाहा पाएपछि कैलाली वर्दिया जाने मान्छे समेत यही बाटो भएर जान थालेको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस