कता हराए दाङ्गका माननीय ? काठमाडौमा जनता अलपत्र भए

सम्पादकीय

बैशाख ०, २०७७

काठमाडौका विभिन्न ठाउँमा पानीमा रुझ्दै भोको पेट घर सम्झिएर रुँदा रुँदा तपाईको ठाउँको मान्छे त्यही अस्तायो भने तपाईको स्वस्तिक चिन्ह पनि अस्ताउँछ ।

लकडाउनका कारण अहिले देशैभरका श्रमिकहरु समस्यामा परेका छन् । वसौ खाने छैन, हिडौ जाने माध्यम छैन । लामो समयम्म कामकाज नहुँदा एकातिर जम्मा भएको पैसा पनि सकिएको छ भने अर्कातिर साहुँ या ठेकेदारले पनि वास्ता गर्न छाडेका छन् ।

यसले गर्दा केयौ मजदुरहरु अलपत्र अवस्थामा रहेका छन् । विशेष गरेर काठमाडौ उपत्यका भित्रमा यस्तो समस्या विकराल छ । केयौ मजदुरहरु यही वाध्यताका कारण लामो दुरी हिडेर समेत आउने गरेको पाइएको छ । मजदुरका साथै काठमाडौका अन्य काम गर्दै या पढ्दै आएका मान्छेहरु समेत यस्तो संक्रमणको अवस्थामा घरवाहिर लामो समय वस्नुपर्दा मानसिक रुपमा विचलित समेत भएका छन् ।

यस्तो संकटको अवस्थामा पनि घरमा साबुपानीले हात धुँदै, मास्क र पञ्जा लगाएर वस्ने जनप्रतिनिधिको कुनै काम छैन ।

संकटको घडीमा नै जनप्रतिनिधि चाहिने हुन् । विभिन्न जनप्रतिनिधिहरुले आफ्ना ठाउँका जनताहरुलाई गन्तव्यमा पुर्याउनका लागि महत्वपूर्ण भुमिका वहन गरिरहेका समाचार सार्वजनिक भइरहेका छन् । रोल्पा र रुकुम जाने मान्छेहरुलाई उर्जामन्त्री वर्षमान पुन र पूर्व गृहमन्त्री जनार्दन शर्मा लगायतका नेताहरुले सहकार्य गरेर गाडीबाट पठाइरहेका छन् ।

दाङ्गको वाटो भएर रोल्पा,रुकुम र सल्यान जानेहरुको ताँती नै देख्न सकिन्छ । तर तिनैको ट्रान्जिट भएको दाङ्गका जनता भने अहिले पनि विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका छन् । उनीहरुलाई गन्तव्यमा पुर्याउनका लागि कुनै पनि जनप्रतनिधिले पहल गर्न सकेका छैनन् । नेतृत्वको सही परीक्षा संकटको घडीमा हुन्छ ।

यस्तो संकटको अवस्थामा पनि घरमा साबुपानीले हात धुँदै, मास्क र पञ्जा लगाएर वस्ने जनप्रतिनिधिको कुनै काम छैन । वल्लो कोठामा वस्ने रोल्पा रुकुमको साथीलाई उसको प्रतिनिधिले घरसम्म लैजाने व्यवस्था गरिरहँदा घर जाने कुनै पनि व्यवस्था नभएको दाङ्गको मानिसलाई कस्तो अनुभुति हुँदो हो ? कहाँ छन् हाम्रा जनप्रतिनिधि ? वरु निर्वाचनमा झण्डा चाहिदैन, टिसर्ट चाहिदैन,घोर्ले खसी चाहिदैन तर यो संकटको घडीमा सबै घर जान चाहन्छन् ।

दाङ्गले धेरै नेता पायो तर खोइ कहाँ गए यो संकटको घडिमा ? प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने हरेकका लागि जनताको प्रश्न हो यो । काठमाडौका विभिन्न ठाउँमा पानीमा रुझ्दै भोको पेट घर सम्झिएर रुँदा रुँदा तपाईको ठाउँको मान्छे त्यही अस्तायो भने तपाईको स्वस्तिक चिन्ह पनि अस्ताउँछ ।

पैसा तिरेर घर जान्छौ भन्दा सहजिकरण समेत गर्न नसक्ने जनप्रतिनिधिहरुको कोटमा झुण्डिएको लोगोको  कुनै अर्थ छैन ।

जनताको प्रतिनिधिले जनताको प्रतिनिधित्व गर्न सकेन भने त्यो नाम मात्रको हुन्छ । स्थानीय सरकारले गरिरहेको राहत वितरणमा भाँजो हालेर गुटको फुटवल खेल्नेहरुले काठमाडौमा वसेका पिडितहरुको आँसु खोइ हेर्न सकेको ? जनताले चुनाव जितेर पठाउनुको कारण संसद भवनमा वसेर तालि वजाउनु मात्रै होइन जनताको संकटपूर्ण अवस्थाबाट पार पाउँनु पनि हो । जनताहरु प्रश्नको जवाफ कामले खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस