सचिवालय बैठकमा ओलीले भने : राजनीतिक दलसम्बन्धी अध्यादेशलाई ठूलो विषय नठानौँ

बैशाख ०८, २०७७

 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइनुलाई त्यति ठूलो विषयका रुपमा नलिन पार्टीका सचिवालयका नेताहरुलाई आग्रह गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजन सम्बन्धी प्रावधान संसोधन गर्ने अध्यादेश ल्याएपछि सोमबार साँझ आकस्मिक रुपमा बोलाइएको नेकपाकाे सचिवालय बैठकमा ओलीले उक्त आग्रह गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘सम्बैधानिक नियुक्ति लगायतका कुरा अड्केकाले अध्यादेश ल्याइएको कुरा प्रधानमन्त्रीले बताउनु भएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा प्रवक्ता श्रेष्ठ धेरै खुल्न चाहेनन् । उनले बैठकमा पार्टी एकता मजबुत बनाउने र कोरोना भाइरसको विश्वव्यापी महामारीविरूद्व एक भएर लड्ने विषयमा छलफल भएको दावी गरे ।

‘सरकारलाई सफल बनाउने र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सामाजिक–आर्थिक रुपान्तरण गर्नु अहिलेको मुख्य कार्यभार हो’ उनले भने, ‘यो बेला सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न सरकारले काम गर्नुपर्छ ।’

बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको’ उल्लेख गरेका छन् । ‘अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभयो’ विज्ञप्तीमा भनिएको छ, ‘तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राख्नुभयो ।’

छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको पनि उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवस्यकतामा  विशेष जोड दिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस