गाउँ नै सहारा

पोष्ट कोभिड

बैशाख ०७, २०७७

उनीहरु सबैका लागि गाउँ नै सबैभन्दा भरपर्दो माध्यम वनेको छ । गाउँमा चाडपर्व जस्तै लाहुरेहरु कुम्लो बाँधेर फर्किरहेका छन् । फरक यत्ति हो चाडपर्वमा आउने लाहुरेलाई सबैले मायाको आँखाले हेर्थे अहिले सन्त्रासको आँखाले हेरिरहेका छन् । गुन्टाभरी सामान, गोजाभरी पैसा र अनुहार भरि खुसी कोरेर घर पुग्ने लाहुेरहरु यतिवेला हतास र सन्त्रास मात्रै बोकेर पुगेका छन् ।

 

घर वनाउँने कामका लागि धादिङ्ग गएका सल्यानका कर्णवहादुर विष्टको दशैमा घर आउँदा ऋण तिर्नका लागि केही पैसा वोकेर आउने सोच वनाएका थिए । तर धादिङ्ग गएको ३ महिना पनि नपुग्दै कोरोनाका कारण उनी घर फर्किए । घरको खेत वाँझो राखेर गएका विष्ट विचमै आउनुपर्दा निकै दुखी छन् । उनीसँगै गएका गाउँका १४ जना पनि फर्किए । सबैको एउटै कुरा थियो, ‘अब गाउँबाट फर्किने होइन गाउँमै केही गर्ने हो ’

श्रमको सिलसिलामा विभिन्न ठाउँमा पुगेका नेपालीहरु कोरोना सन्त्रासका कारण सरकारले गरेको लकडाउनको श्रृंखला लम्बिने छाँट भएपछि जोखिम मोलेर घर फर्किरहेका छन् । देशभन्दा वाहिर रहेकाहरु विश्वव्यापी लकडाउनले फर्कन पाएका छैनन् । तर पनि उनीहरु देश आउनका लागि तम्तयार भइसकेका छन् । भारतबाट आउने नेपालीको संख्या पनि उत्तिकै मात्रामा देखिन्छ ।

अहिले नेपालभरबाट गाउँ फर्कनेहरुको ताति लागेको छ । उनीहरु सबैका लागि गाउँ नै सबैभन्दा भरपर्दो माध्यम वनेको छ । गाउँमा चाडपर्व जस्तै लाहुरेहरु कुम्लो बाँधेर फर्किरहेका छन् । फरक यत्ति हो चाडपर्वमा आउने लाहुरेलाई सबैले मायाको आँखाले हेर्थे अहिले सन्त्रासको आँखाले हेरिरहेका छन् । गुन्टाभरी सामान, गोजाभरी पैसा र अनुहार भरि खुसी कोरेर घर पुग्ने लाहुेरहरु यतिवेला हतास र सन्त्रास मात्रै बोकेर पुगेका छन् ।

समाजमा यतिवेला कोही व्यक्ति उपेक्षामा परेको छ भने त्यो लाहुरे नै हो । यो सबैको वाध्यता पनि हो । ठूला ठूला देशमा वसेर मातृभुमीको उपेक्षा गर्नेहरु पनि यतिवेला देश सम्झेर भक्कानिएका छन् । कोरोनाको सन्त्रासले समाजको आकृति मात्रै होइन मानसिकता पनि वदल्ने निश्चित छ ।

घरगाउँभन्दा वाहिर मात्रै पैसा कमाउन सकिन्छ भन्ने सोचमा यतिवेला केही परिवर्तन आउने देखिन्छ । कोरोनाको कहरका कारण घरगाउँमा फर्किएका श्रमिकहरुका आँखाबाट अव परदेश हराएको छ । उनीहरु यही वसेर केही परिवर्तन गर्न चाहन्छन् । गाउँघरमै केही सम्भावना खोज्नु नै उनीहरुको पहिलो विकल्प रहेको छ ।

यतिवेला देशमा तिन तहको सरकार छ । सबैका आआफ्नै महत्व छ । देश वनाउने जोश भएकाहरु सबै पलायन भए भनेर निराश हुनेका लागि यो अवसर पनि हो । कोरोनाका कारण अहिले सबैको पहिलो रोजाइ आफ्नै गाउँघर नै हो । उनीहरुलाई अवसरका लागि सरकारले ढोका खोलिदिन सक्यो भने त्यो पनि सबैभन्दा उत्तम विकल्प हो ।

घरदेश छोड्ने रहर कसैलाई पनि हुँदैन । सबैसँग वाध्यता नै हुन्छ । यो वाध्यताको अत्य गर्नका लागि स्थानीय तहका सरकारहरुको भुमिका विशेष हुन्छ ।

१) स्थानीय विकासमा सहभागी 

स्थानीय सरकारले विभिन्न विकास निर्माणका कामहरु अगाडि वढाइरहेको छ । हरेक विकासका काममा स्थानीयको सहभागितालाई प्राथमिकतामा राखेर नीति अख्तियार गर्न सकियो भने अवश्य पनि त्यसले विकास र रोजगारीलाई एकैपटक अगाडि लैजान्छ । संघीयताका कारण आफ्नो ठाउँको विकास कसरी गर्ने भन्ने सबै कुराको छिनोफानो गर्ने अधिकार स्थानीय सरकार मै रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनले पनि प्रष्ठ ढँगले यो व्याख्या गरेको छ । रोजगारी सृजना गर्ने खालका कार्यक्रम वनाउनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । यो अवसरमा उनीहरुलाई रोजगारी दिन सकिएन भने देश निर्माणको आधार वन्ने खालको जनशक्ति पलायन हुने निश्चित छ । जोश सृजनशिलता भएका युवाहरुलाई उचित अवसर दिनमा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

२) कृषि उत्पादनमा जोड

देशभित्र र वाहिरबाट गाउँ फर्किएकाहरुका लागि कृषि उत्पादन मै लगाउनु सबैभन्दा उत्तम विकल्प हो । कृषि प्रधान देशमा रहेको बाँझो भुमिलाई उर्वर वनाउनका लागि कसरी अहिलेको जनशक्तिलाई केन्द्रीत गर्न सकिन्छ भन्ने वारेमा सबैले सोच्नुपर्ने हुन्छ । नेपालमा उत्पादनको प्रशस्त आधार हुँदाहुँदै पनि जनशक्ति पलायनका कारण कृषिजन्य उपजहरु समेत ठूलो मात्रामा वाहिरबाट आउने गरेका छन् । नेपालको उत्पादन वढाउनका लागि यो विशेष अवसर पनि हो ।

यसलाई सही ढँगले समाधान गर्न सकियो भने यसले पक्कै पनि निर्यात व्यापार वढाउने निश्चित छ । व्यावसायिक कृषिका लागि सरकारले यो वेलामा विशेष कार्यक्रम ल्याउन पर्ने देखिन्छ । यतिवेला घर फर्किएको युवा कुनै उपाय नभए मात्रै वाहिर जाने हो अन्यथा देशमै वस्न चाहन्छ । आफ्नै माटो खोस्रन चाहन्छ ।

३) सीपमुलक तालिम

आजको युगमा कुनै पनि सामान्य सीप भयो भने मानिसलाई जीवन चलाउन त्यती धेरै गाह्रो छैन । उपयुक्त सीप नहुँदा पनि आजका युवाहरु श्रममुखी काम गर्नका लागि वाहिर जाने गरेका छन् । विभिन्न सीप प्रदान गर्ने संघसंस्थाका साथै स्थानीय सरकारले पनि तत्काल रोजगार प्राप्त हुने खालका सीपमुलक तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ । तालिमका लागि तालिम दिने हाम्रो प्रवृत्ति छ ।
यसलाई निरुत्साहित गरेर स्थानीय स्तरमा के को आवश्यका छ भन्ने कुराका आधारमा सीपमुलक तालिमको व्यवस्था गर्न सकियो भने उनीहरुले जीवन जीउँने मेलो समात्न सक्छन् । व्यावसायिक कृषिका साथै नयाँ प्रविधि र घर निर्माणका विभिन्न खाले तालिमहरु यसमा पर्न सक्दछन् । वडा टोलहरुले यसको आँकलन गरेर स्थानीय सरकार मार्फत सञ्चालन गर्न सकिन्छ ।

जीवनमरणको दोसाँधमा गाउँलाई माया गरेर फर्किएको युवाले फेरी गाउँमै सम्भावना देखेन भने यो देश कहिल्यै बन्दैन

४) सहुलियत ऋण

नयाँ योजना र जोश भएर पनि लगानी गर्ने आर्थिक जोहो नहुँदा पनि केयौ युवाहरुले गाउँ छोड्ने गरेका छन् । सरकारले सहुलियत ऋणका कुरा उठाएपनि सामाजिक उत्तरदायित्व वहन गर्न कन्ज्युँस्याई गर्ने बैकहरुका कारण अहिले सानो सानो लगानी गर्न चाहनेहरुका लागि लगानीको वातावरण बनेको देखिदैन । स्थानीय सरकारले जमानीको व्यवस्था गरेर त्यस्ताहरुलाई सहुलियत ऋणका लागि पहल गरिदिनु पर्दछ । यस्तो सहुलियत ऋणका लागि नेपाल सरकारले पनि केही पहल गर्न सक्दछ । स्थानीय सरकारहरुले स्थानीय उत्पादनमा आधारित उद्यमको लागि अनुदानको समेत व्यवस्था गर्न सक्छन् ।

५) वजारीकरण 

नेपालमा भारत र चिनका उत्पादनको आक्रामक वजार रहेको छ । अहिलेको अवस्थामा स्थानीय कच्चा पदार्थमा आधारित उद्यमको विकास गरेर मात्रै पनि हुँदैन । मुख्य कुरा त्यसको वजारीकरण हो । उत्पादित वस्तुले उचित मुल्य पाउन सकेन भने किसानहरु निराश अवस्था सृजना हुन्छ । भारतबाट आउने कृषि उपजहरु निकै कम मुल्यमा आउने गरेका छन् । जसले गर्दा यहाँको उत्पादन खेतमै रहने र वजारमा भारतबाट आएका वस्तुहरुको उत्पादन रहने गरेको छ । स्थानीय उत्पादनको वजारीकरणका लागि स्थानीय सरकारहरुले विभिन्न वजारहरुको निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ ।

अर्थतन्त्रका साना साना कुराहरुलाई ध्यान दिन सकियो भने मात्रै आर्थिक सूचक उकालो लाग्ने हुन्छ । देश छाडे भनेर गाली गर्ने मात्रै भन्दा पनि उनीहरुलाई सम्भावना देखाउन सकियो भने यहाँ राख्न सकिन्छ ।

चिल्लो बाटो अर्को वर्ष वनाउँदा हुन्छ, पुुल पुलेसा एक वर्ष नभए पनि ठीकै छ । तर जीवनमरणको दोसाँधमा गाउँलाई माया गरेर फर्किएको युवाले फेरी गाउँमै सम्भावना देखेन भने यो देश कहिल्यै वन्दैन । देश निर्माणको वलियो आधार युवालाई नेपालमै वस्ने अवस्था सृजना गरौ ।

प्रतिक्रिया दिनुहोस