कोरोना भाइरसबाट विश्वभर कहाँ कहाँ कति नेपालीकाे मृत्यु भयाे

बैशाख ०७, २०७७

विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड-१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २८ पुगेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड-१९’ उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्।

 

नेपालमा १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जना कोरोनामुक्त भइसकेका छन्।

संक्रमित हुनेमा देशमा अमेरिकामा ७ सय, युकेमा २ सय, स्पेनमा १०, युएईमा ७१, जर्मनीमा ४, पोर्चुगलमा २२, अष्ट्रेलियामा ११, आयरल्यण्डमा २२, साउदी अरबमा ४, कुवेतमा २१, फ्रान्समा १, जापानमा १, मलेसियामा ३, म्यानरमारमा १, बेल्जियममा ४, क्यानाडामा ३, स्वीट्जरल्याण्डमा ५, मल्टामा २, हङकङमा १ जना कोरोना संक्रमित रहेको छन्।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर सो तथ्यांक तयार पारिएको समितिले जनाएको छ।

विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार साँझसम्म दुईदर्जन भन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितको लागि संघले राहत वितरण गरेको छ।

यसैबीच गैरआवासीय नेपाली (एनआरएन)को ‘कोभिडा १९’ उच्चस्तरीय समितिको बैठक आइतवार बस्ने भएको छ। संघका महासचिब डा. हेमराज शर्माका अनुसार बैठकले कोरोना पिडितहरुको लागि राहत वितरणको लागि नयाँ नीति तय गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस