पत्नीले पतिको टाउकोमा प्रहार गरी हत्या

बैशाख ०६, २०७७

प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ ।

दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बताइएको छ ।

श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाउज्यू र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाएका छन् ।

श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र हत्यामा अन्य व्यक्तिको संलग्नता भएनभएको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस