दाङका सबै नाका सिल

बैशाख ०५, २०७७

बैशाख, ५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न तथा सीमा नाकामा सुरक्षा व्यबस्था थप सुदृढ गर्न भारतसँग सिमा जोडिएका दाङका सबै नाकाहरु अनिश्चितकालका लागि पूर्णरुपमा सिल गरिएको छ ।

यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये ७ वटा नाका सिल गरिएकोमा आज शुक्रबारबाट थप ३ वटा नाका पनि सिल गरिएसँगै दाङका सबै नाकाहरु पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार भारतसँग सिमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अब अनिश्चितकालका लागि बन्द भएको छ ।

जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

केही समय अघि मात्रै नेपाल–भारत सिमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाका गरी ७ वटा नाकामा सशस्त्र प्रहरीको क्याम्प खडा गरी परिचालन गरिएको छ । आजबाट थप ३ वटा नाकाहरु डगमारा नाका, खबरी नाका र भैँसाही नाकामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

उनले भने, ‘कोरोना भाइरसको संक्रमण रोकथामसँगै लकडाउनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि पनि नेपाल भारत सिमा नाका पूर्ण रुपमा बन्द गरेका छौं, साना ठूला गरी ३१ वटा नाकाहरु अब अर्को सूचना नभएसम्म पूर्ण रुपमा बन्द भएका छन् ।’

उनका अनुसार प्रत्येक क्याम्पमा ३०-३५ जनाको युनिट खडा गरी सशस्त्र प्रहरी बल सिमा सुरक्षार्थ खटाईएको छ । जिल्लामा उपलब्ध श्रोत साधन र आवश्यकताका आधार जनशक्ति थप गर्दै लगिने छ ।

बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोइलाबासलगायत केही नाकामा भने नेपाल प्रहरी पनि परिचालन गरिएको छ ।

यसैबीच, ५ नम्बर प्रदेश अन्तरगतको भारतसँग सीमा जोडिएका अन्य स्थानमा २ सय बढी अस्थायी पोष्ट खडा गरी सीमा नाका बन्द गरिएको छ । खुला सीमाका कारण कोरोना भाइरस संक्रमणको त्रास बढेकाले सशस्त्र प्रहरी सीमामा तैनाथ गरी आवागमनमा पूरै रोक लगाईएको छ ।

सशस्त्र प्रहरीको टोली लुकीचोरी आवतजावत हुने ठाँउमा पाल टाँगेर र अस्थायी पोष्ट खडा गरेर २४ सै घण्टा ड्यूटीमा खटिएको ५ नम्बर प्रदेश सशस्त्र बाहिनी प्रमुख डीआईजी नारायणदत्त पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस