कोरोना भाइरसका संक्रमित करिब २२ लाख, १ लाख साढे ४५ हजार बढीको मृत्यु

बैशाख ०५, २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब २२ लाख पुगेको छ भने एक लाख साढे ४५ हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा २१ लाख ८२ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बिहीबारसम्म विश्वमा कोरोना भाइरसका कारण १ लाख ४५ हजार ५ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।

कूल संक्रमितमध्ये हालसम्म ५ लाख ४७ हजार १ सय ५५ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वभर १४ लाख ८९ हजार ३ सय ८७ जना अस्पतालमा तथा घरमै बसेर कोरोना भाइरसको उपचार गरिरहेका छन्। उपचारत संक्रमितमध्ये ५६ हजार ५ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ भने १४ लाख ३२ हजार ७ सय ९३ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको शंकामा ७ हजार बढीको ‘स्वाव’ परीक्षण गरिसकिएको छ। परीक्षण गरिएकामध्ये १६ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये १ जनाको उपचारपछि निको भइसकेको छ भने १५ जना उपचारत छन्। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो।

विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित अमेरिकामा रहेका छन् भने मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या पनि त्यहीँ रहेको छ। अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ भने ३४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ पुगेको छ, जसमध्ये १९ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ। इटालीमा १ लाख ६८ हजार ९ सय ४१ कोरोना संक्रमित रहेकोमा २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ।

फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार २७ जना पुगेको छ। यीमध्ये १७ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ। बेलायतमा संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको भने १३ हजार ७ सय २९ जनाको मृत्यु भएको छ।

चीनमा कोरोना भाइरसका संक्रमित संख्या ८२ हजार ३ सय ४१ पुगेको छ, जसमध्ये ३ हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ। इरानमा ७७ हजार ९ सय ९५ कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म ४ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना संक्रमित संख्या ७४ हजार १ सय ९३ रहेको छ। यीमध्ये १ हजार ६ सय ४३ जनाको मृत्यु भइसकेको छ।

बेल्जियममा कोरोना भाइरसका संक्रमित ३४ हजार ८ सय ९ जना रहेका छन् भने ४ हजार ८ सय ५७ जनाले ज्यान गुमाइसकेका छन्। ब्रालिमा कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ८३ पुगेको छ, जसमध्ये १ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ। क्यानाडामा ३० हजार १ सय ६ जना कोरोना संक्रमित रहेकोमा १ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ।

नेदरल्याण्ड्समा २९ हजार २ सय १४ जना कोरोना संक्रमित छन्। यीमध्ये ३ हजार ३ सय १५ जनाको मृत्यु भएको छ। रुसमा २७ हजार ९ सय ३८ जना संक्रमित रहेकोमा २ सय ३२ जनाको मृत्यु भएको छ। स्वीट्जरल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या २६ हजार ७ सय ७२ पुगेको छ, जसमध्ये १ हजार २ सय ८१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस