सासंद मेटमणी चौधरीले सरकार कै नियम उल्लघंन गरेर राहत बाँडे

बैशाख ०३, २०७७

तुलसीपुर । दाङ्ग क्षेत्र नम्वर १ प्रतिनिधि सभाका सांसद मेटमणी चौधरीले सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि वनाएको नीति उल्लंघन गरेका छन् । सरकारले दोहोरो राहत वितरण नहोस् भन्नका लागि वनाएको एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि सम्वन्धित निकायमा पत्राचार गरेको थियो ।

सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालय दाङ्गले राहत वितरण गर्दा जनप्रतिनिधि, प्रहरी र दाताको अनिवार्य उपस्थितिमा मात्रै राहत वितरण गर्ने भनेपनि उनले प्रहरी र जनप्रतिनिधिको समन्वय विना नै एकलौटी राहत वितरण गरेका हुन् । साँसद चौधरीले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर १७,१८ र १९ मा राहत वितरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले वनाएको नियम सबैलाई वरावर हुने भन्दै मनोमानी ढँगले कसैले पनि राहत वितरण गर्न नहुने वताए ।

तुलसीपुर उपमहानगरपालिकाले टोलविकास संस्थाको सहकार्य र वडाको सर्वदलीय वैठकबाट छानिएकालाई राहत वितरण गरिसकेको छ । उपमहानगरपालिकाले राहत वितरण गरेको साता दिन पनि नपुग्दै सांसद चौधरीले सोही मान्छेहरुलाई राहत वितरण गरेका हुन् ।

“जनताले आवश्यक ठाने जहाँ गएर पनि वितरण गर्न सकिन्छ” सांसद चौधरीले भने । उनले स्थानीय सरकारलाई खवर नगरेर वितरण गरिनु कमजोरी भएको समेत स्वीकारे । “खवर गर्न भनेको साथीहरुले किन खवर गरेनन् मलाई अचम्म लागेको छ ” उनले भने । सचिवालयले कहाँ राहत वितरण गर्ने भनेर समन्वय गरेको पनि उनले वताए ।

वडा नम्वर १८ का वडाध्यक्ष माधव वलीले सांसद जस्तो गरिमा वोकेको मान्छेले मनोमानी ढँगले राहत वितरण गर्नु उचित नभएको वताए । उनले वडाका सबै विपन्न परिवारलाई आफुले राहत वितरण गरिसकेको अवस्थामा अनायासै राहत वितरण गरिनुले आफुलाई अचम्मित भएको वताए । “हामीले राहत दिइसकेको मान्छेलाई तत्काल राहत दिन आवश्यक थिएन” अध्यक्ष वलीले भने ।

उपमहानगरपालिकाले राहत कोष र फुड वैक मार्फत सबै विपन्नका घरमा राहत पुर्याएको वताउँदै स्थानीय सरकारलाई वेवास्था गरेर राहत वितरण गर्ने अधिकार कसैलाई पनि नभएको वताए ।

प्रतिक्रिया दिनुहोस