अनलाइन पासको पिडा, गाउँमा हजुरवुवाको लास, शहरमा नाति भौतारिदै

बैशाख ०३, २०७७

 

तुलसीपुर । गंगादेव गाउँपालिका वडा नम्वर ६ रोल्पाका विमल खड्काको हजुरवुवाको मृत्यु भएको खवर बुधवार विहान ४ वजे आइपुग्यो । हाल बबई गाउँपालिका हंसपुरमा वस्ने उनले आपतकालिन पासका लागि गाउँपालिकामा अनुरोध गरे । गाउँपालिकाले पास दिन नमिल्ने भनेपछि उनी हिडेरै तुलसीपुर इलाका प्रशासन कार्यालयमा गए ।

प्रशासनले अनलाइनबाट मात्रै फाराम भर्न मिल्ने वताएपछि उनी तुलसीपुर उपमहानगरपालिकामा आएर फाराम भर्नका लागि अनुरोध गरे । करिव १ वजेतिर उनको फाराम पनि भरियो । फाराम सम्वन्धित ठाउँमा पुगेको सन्देश पनि आयो तर साँझ साढे ४ वज्दासम्म पनि उनको मोबाईलमा कुनै सन्देश आएन ।

तुलसीपुरमा भौतारिरहेका खड्कालाई हजुरवुवाको मृत्युको पिडा एकातिर छ अर्कोतिर पासको । ‘के नियम आयो आफन्त मर्दा पनि जान नपाइने’ उनले पिडा पोखे । एकातिर हजुरवुवाको मृत्युको पिडा अर्कातिर पासको अन्यौलता उनी निकै तनावमा थिए ।

उनको मोवाईलमा घरी घरी घरबाट फोन वजिरहन्थ्यो ‘कुरा गरेको छ वन्दै छ रे’ उनले परिवारलाई वनावटी आश्वस्त वनाइरहन्थे ।
सरकारले अत्यावश्यक काम परेकालाई सम्वन्धित ठाउँमा जानका लागि पासको व्यवस्था गरेको भएपनि प्राविधिक कमजोरीका कारण अहिले जनताले दुख पाइरहेका छन् ।

‘अनलाईनबाट माग गर्ने वित्तिकै धेरै आएको छ हेर्ने गाह्रो छ ’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले वताए । उनले सफ्टवेयरमा समस्या भएका कारण ढिलाइ भएको स्विकारे । ‘सुरुमा देखाएको १ सय जनाको हेरेपछि मात्रै अरुको हेर्न सकिन्छ’ उनले भने ।

अनलाइनमा फाराम भरेपछि निवेदन र कागजात हेरेर जिल्ला प्रशासन कार्यालयले स्विकृति दिने व्यवस्था छ । सरकारले जिल्ला प्रशासन कार्यालयलाई मात्रै जिम्मा दिएका कारण धेरै भिडभाड हुने गरेको छ ।

‘हामीलाई यस बारेमा कुनै पनि अधिकार प्रत्यायोजन गरिएको छैन’ इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डनले वताए ।

प्रतिक्रिया दिनुहोस