दाङ्ग उद्योग वाणिज्य संघको गलत नियत

सम्पादकीय

बैशाख ०३, २०७७

संक्रमण र संकटलाई मजाक वनाउने संघका पदाधिकारीहरुलाई प्रशासनले कारवाहीको दायरामा ल्याउन आवश्यक छ । हामीले जानेनौ वुझेनौ भनेर संकटको समयमा मजाक गर्ने छुट कसैलाई पनि हुनुहुँदैन । प्रशासनले यस विषयमा वन्द रहेका कान खोलोस् ।

घोराहीमा घरघरमा खाद्यान्न र तरकारी पुर्याउँने कार्यमा सहकार्य गर्दै आएको दाङ्ग जिल्ला उद्योग वाणिज्य संघले भारतबाट अवैध ढँगले ल्याएको तरकारी तथा फलफुल विक्री हुने गरेको तथ्य सार्वजनिक भएसँगै सर्वत्र आलोचना भएको छ । याे खबरले जनता संशकित भएका छन् । जनताको पक्षमा काम गरेको छुँ भनेर भ्रम छर्दै धेरै मुनाफा आर्जन गर्नका लागि स्थानीय उत्पादनलाई लत्याएर यस्तो कार्य गरेको पाइएको छ ।

कोरोना संक्रमणले अहिले विश्व नै आक्रान्त वनेको छ । साना साना कुरामा हामीले सजगता अपनाउनु पर्ने अवस्था छ । लकडाउनका कारण जनता घरबाट निस्कन सकिरहेका छैनन् । यस्तो अवस्थामा सबैले आआफ्नो तर्फबाट महामारीको समयका कुनै पनि खालको दुर्घटना नहोस् भन्नका लागि सहयोग गर्नुपर्नेमा धेरै मुनाफाका लागि भारतबाट अवैध ढँगले ल्याइएको तरकारी तथा फलफुल विक्री गर्न खोज्नु आफैमा आलोचनामुखी काम हो ।

मुनाफाका लागि व्यवसाय गर्नेहरुको संस्था हो भन्दैमा जनताप्रतिको उत्तरदायित्वलाई संघले कदापि पनि भुल्न मिल्दैन । एउटा प्रतिष्ठा कमाइसकेको संस्था सिमित व्यक्तिको स्वार्थ पुरा गर्नका लागि उद्यत हुन जनता प्रतिको वेइमानी हो । नैतिकताविहिनताको पराकाष्ठा हो । भारतबाट ल्याएको तरकारीमा केही वढि फाइदा हुने प्रलोभनका कारण संघले यस्तो गरेको पाइएको छ । तर त्यसले मानव स्वास्थ्यमा अझ अहिलेको जस्तो संक्रमणको अवस्थामा कस्तो भुमिका खेल्छ भन्ने वारेमा खोइ त सोचेको ?

गाडीको अगाडि ठूलो अक्षरमा टाँगिएको ब्यानर देखिएन भन्ने नैतिकता कहाँबाट आउँछ पदाधिकारीहरुमा ?

जनतालाई भ्रममा राखेर संघले जुन खालको तुच्छ कार्य गर्यो यसले अहिलेसम्मको संघको गरिमामा पक्कै पनि प्रश्न चिन्ह खडा गरेको छ । हरेक मान्छे होस् या संस्था विपत्तिको वेलामा नै त्यसको परीक्षा हुन्छ भन्छन् । वास्तवमा यो बेलामा संघको परीक्षा भएको छ । संघका पदाधिकारीहरुको नैतिकता माथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

आज यहाँका किसानहरुका तरकारीहरु खेतमै कुहिएका छन् । लकडाउनका कारण उनीहरुको पसिना र श्रम खेर गइरहेको छ । यस्तो अवस्थामा किसानसँग सहकार्य गरेर वजारमा तरकारी आपूर्ति गर्ने कार्यमा संलग्न हुनुपर्नेमा मुल्यसँग तुलना गरेर भारतीय तरकारी विक्री गर्नु खेदजनक छ ।

गाडीको अगाडि ठूलो अक्षरमा टाँगिएको ब्यानर देखिएन भन्ने नैतिकता कहाँबाट आउँछ पदाधिकारीहरुमा ? वजारलाई व्यवस्थित गरेर कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भन्ने बारेमा खोइ ध्यान दिन सकेको ? भारतबाट नेपाललाई कोरोनाको जोखिम भएको अहिलेको अवस्थामा कुनै पनि सुरक्षाको संशाधन प्रयोग नगरेर घरघरमा तरकारी वेच्न जानु कति सम्मको लापरवाही हो हामी सहजै अनुमान लगाउन सक्छौ ।

जनताको आँखामा एकाध दिन छारो हाल्न सकिन्छ तर सधै सकिन्न । पुर्खाले पहिल्यै भनिनसकेका छन् एकदिन पाप धुरीबाट कराउँछ भनेर । आज घरघरमा भारतबाट असुरक्षित ढँगले आएको मान्छेको संसर्ग रहेको मान्छे तरकारी बोकेर पुगिरहेको छ । यस्तो कुराको ख्याल नगरेर मनलाग्दो गर्न दिनका लागि उद्योग वाणिज्य संघलाई कुनै वैधता छैन ।

संक्रमण र संकटलाई मजाक वनाउने संघका पदाधिकारीहरुलाई प्रशासनले कारवाहीको दायरामा ल्याउन आवश्यक छ । हामीले जानेनौ वुझेनौ भनेर संकटको समयमा मजाक गर्ने छुट कसैलाई पनि हुनुहुँदैन । प्रशासनले यस विषयमा वन्द रहेका कान खोलोस् ।

प्रतिक्रिया दिनुहोस