भारतमा एकैदिन हजार बढी कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

बैशाख ०३, २०७७

काठमाडाै । भारतमा लगातार दुई दिन कोरोना भाइरस (कोभिड-१९)का संक्रमित एक हजारभन्दा बढी थपिएका छन्। यसले भारतलाई आगामी दिन कोरोना भाइरसको नयाँ इपिसेन्टर बनाउने खतरा बढाएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार मंगलबार एकैदिन भारतमा १ हजार ३४ कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्। सोही दिन कोरोनाका कारण भारतमा ३५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ हजार ४ सय ८७ पुगेको छ भने मर्नेको संख्या ३ सय ९३ पुगेको छ।

सोमबार भारतमा १ हजार २ सय ४८ जना कोरोनाका नयाँ बिरामी देखिएका थिए भने २७ जनाको मृत्यु भएको थियो।

एक महिना अघि मार्च १४ दिन भारतमा मात्र एकैदिन १८ जना कोरोना भाइरसका बिरामी देखिएका थिए। एक महिनापछि अर्थात् अप्रिल १४ एकैदिन भारतमा १ हजार ३४ जना बिरामी थपिएका छन्।

मार्च १४ का दिनसम्म भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या १ सय रहेको थियो। एक महिनापछि अप्रिल १४ सम्म आइपुग्दा यो बढेर ११ हजार ४ सय ८७ पुगेको छ।

भारतमा कोरोना भाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु गत मार्च १२ का दिन भएको थियो। अर्थात् माच १२ मा कोरोना भाइरसबाट मर्नेको संख्या १ थियो। एक महिनापछि अप्रिल १४ एकैदिन भारतमा कोरोनाबाट मर्नेको संख्या ३५ पुगेको छ। भारतमा एकैदिन सबैभन्दा बढीको मृत्यु अप्रिल ९ का दिन ४९ जनाको मृत्यु भएको थियो।

एक महिनाअघि मार्च १४ का दिनसम्म भारतमा कोरोना भाइरसबाट मर्नेको कूल संख्या मात्र २ थियो। एक महिनापछि अप्रिल १४ दिनसम्म आइपुग्दा यो संख्या बढेर ३ सय ९३ पुगेको छ। भारतमा पछिल्ला प्रत्येक दिन ३० जनाभन्दा बढीको मृत्यु कोरोना भाइरसका कारण हुँदै आएको छ।

भारतमा १० लाखभन्दा बढी नेपाली रहँदै आएका छन्। तीमध्ये केही लाख नेपाली लकडाउन अघि र लकडाउनको समयमा नेपाल फर्केका छन्। अझै पनि ठूलो संख्यामा नेपालीहरु भारतमा रहेका छन्।

नेपालमा हालसम्म भेटिएका १६ जना कोरोना भाइरसका संक्रमित मध्ये धेरैको सम्बन्ध भारतसँग जोडिएको छ। केही भारतीयहरु लकडाउनका बेला पनि अवैध तरिकाले नेपाल प्रवेश गरेको र उनीहरुमा कोरोनाको संक्रमण भएको पाइएको छ।

यसले नेपाललाई पनि खतरा रहेको स्पष्ट देखाएको छ। बेलैमा भारतसँगको सीमाबाट हुने आवतजावतलाई नियन्त्रण गर्न नसकिए यसले नेपालमा पनि भयावह अवस्था सिर्ज‍ना गर्नसक्छ।

प्रतिक्रिया दिनुहोस