सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टि, बुहारीको रिपोर्ट नेगेटिभ

बैशाख ०२, २०७७

काठमाडौ \ सनसिटी अपार्टमेन्टका तीनमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीनमध्ये आमा र छोराको रिपोर्ट भने पोजेटिभ देखिएको छ।

‘पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आइ बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल वैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)को पोजेटिभ देखिएकाले पीसीआरबाट थप परीक्षण गर्दासमेत पोजेटिभ रिपोर्ट देखिएको छ,’ स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाँकी १ जनाको पहिलो परीक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाइन टाउन प्लानिङस्थित निवासमा बसोबास गर्दै आएको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।’

उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको मन्त्रालयले जनाएको छ। ‘निजहरूसँग संलग्नहरूको ट्रेसिङड सुरू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित संख्या १६ पुगेको छ। सोमबार दुई जनामा कोरोना संक्रमण भेटिएको थियो भने आइतबार तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस