लकडाउन एकसाता थप्‍ने सरकारको तयारी

बैशाख ०२, २०७७

काठमाडौं। सरकारले कोभिड- १९ फैलिन नदिन लागू गरेको देशव्यापी लकडाउन अझै केहीदिन थप्ने तयारी गरेको छ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो पटकका लागि ३ बैशाखसम्म लकडाउन लागू गरेको थियो।

लकडाउनलाई निरन्तरता दिने वा नदिने र सरकारले कोभिड- १९ विरुद्ध अझै गर्नुपर्ने तयारी लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले  बताए।

“बैठक कोभिड-१९ कै रोकथाम, उपचार र तयारीको बारेमा छलफल हुनेछ”, उनले भने, “सरकारले अहिलेसम्म गरेको कामको समिक्षा र अबको रणनीति नै मुख्य अजेण्डा छ।”

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका कारणले रोकथाम र नियन्त्रणका लागि लकडाउन बढाउनुपर्ने सरोकारवालाले सरकारलाई सुझाइरहेका छन्।

तीन दिनअघि प्रधानमन्त्रीसँगको भिडिओ कन्फ्रेन्समा सातवतै प्रदेशका मुख्यमन्त्रीहरूले पनि लकडाउनको समय अझै केहीदिन बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सो क्रममा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा कडाइ हुने बताएका थिए।

बालुवाटार स्रोतका अनुसार अझै एकसातासम्म लकडाउनको समय बढ्न सक्ने देखिन्छ।

प्रधानमन्त्रीले केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै अब आउने दुईसाता केही चुनौतीपूर्ण हुने बताएका थिए।

कोभिड-१९ फैलिन नदिन सरकारले ११ चैतदेखि पहिलो पटक लकडाउन लागू गरेको थियो। त्यसपछि दुई पटक अवधि बढाएर ३ वैशाखसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरिएको हो।

भारतमा पनि लकडाउनको समय आजै सकिदैछ। त्यहाँ प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

सम्बोधनमै मोदीले लकडाउन लम्बाउने घोषणा गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा कोभिड-१९ का बिरामी दिनहुँ थपिरहँदा बेला नेपालमा थप सतर्कता र सावधानी अपनाउनुपर्ने माग बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस