सिसहनियाँमा राष्ट्रिय गान सहित १ मिनेट ताली बज्यो

बैशाख ०१, २०७७

 ओमप्रकाश गुप्ता

सिसहनियाँ  । कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् ।

चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएर ताली बजाएका हुन् ।

यसै बिच दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा सोमबार विहान ८ बजे राष्ट्रिय गान सहित १ मिनेट ताली बजाइएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमको अग्रपंतिमा रहेर सेवा दिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च सम्मानका लागि सिसहनियाँ उद्योग वाणिज्य संघ र राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको पहलमा सिसहनियाँ बजारका स्थानीयले आ-आफ्नो घरको छत तथा झ्यालबाट राष्ट्रिय गान सहित ताली बजाएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्न अहोरात्र खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन सबैलाई आह्वान गरेपछि उद्योग वाणिज्य संघ र चेम्बरको पहलमा सिसहनियाँमा माइकिङ गरि आ-आफ्नो घरबाट राष्ट्रिय गान र ताली बजाइएको उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस