मजदुरका लागि खाद्य सामग्री हस्तान्तरण

चैत १७, २०७६

 

दाङ, चैत १७ गते । राष्ट्रिय युवा संघ नेपाल दाङले बंगलाचुली गाउँपालिकाका लागि खाद्य सामाग्री उपलब्ध गराएको छ । लकडाउनका कारण गाउँपालिकामा खाद्यान्न संकट देखिन थालेको जानकारी आएपछि संघले सामबार खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरी संघले प्रमुख जिल्ला अधिकारीमार्फत् बंगलाचुली गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज जीवन गौतम, जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी, विश्वराज आचार्य, युवासंघका केन्द्रीय सदसय माधव ओली र जिल्ला संयोजक देवु बस्नेतले संयुक्त रुपमा खाद्य सामग्री प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई हस्तान्तरण गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता तथा युवा संघ आवद्ध युवाहरुले व्यक्तिगत खर्चबाट खरिद गरेको १५ क्वीन्टल चाामल, ४ पेटी तेल, २ वोरा सोयाविन, २ बोरा नुन र १ वोरा दाल बंगलाचुली गाउँपालिकाका विपन्न परिवारहरुका लागि हस्तान्तरण गरेको नेकपाका युवा नेता मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।

बंगलाचाुली गाउँपालिकाका बिपन्न परिवार भोकभोकै मर्नुपर्ने अवस्था आएको खबर सुनेर नेकपा र युवासंघका नेता कार्यकर्ताहरुको व्यक्तिगत खर्च कटाएर खाद्य सामग्री जुटाएको नेता बुढाथोकीले जानकारी दिनुभयो । सहयोग कार्यक्रमलाई निरन्तरता दिने भन्दै नेता बुढाथोकीले लगत्तै राजपुर गाउँपालिकाको नाका क्षेत्रका बिपन्न परिवारका लागि खाद्यान्न उपलब्ध गराउने जानकारी दिनुभयो ।

नेकपाका नेता तथा राष्ट्रिय युवासंघका नेताहरु विश्वराज आचार्य, सर्वेश डाँगी, देवु बस्नेत, माधव वली, टोपेन्द्र विष्ट, बालाराम पौडेल र बालकुमार घर्तीले व्यक्तिगत खर्च गरेर खाद्य सामग्री उपलब्ध गराएको बुढाथोकीले जानकारी दिनुभयो ।
खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेकपा दाङका इञ्चार्ज जीवन गौतमले वंगलाचुली तथा दुर्गम नाका क्षेत्रमा खाद्यान्न संकट देखिन थालेको भन्दै सक्दो सहयोग उपलव्ध गराउन नेकपाका नेता, कार्यकर्ताहरुलाई अपील गर्नुभयो । साथै उहाँले एकद्धार प्रणालीमार्फत वितरणको काम गर्नुपर्ने भन्दै जुनसुकै सहयोग जिल्ला प्रशासन कार्यालयमार्फत् गर्न समेत अनुरोध गर्नुभयो ।

यसैबीच युवा संघका केन्द्रीय सदस्य माधव ओलीले जनताको पीडा व्यथामा मल्हम लगाउने काममा बिगतदेखि युवासंघ लागिपरेको भन्दै कोरोनाको महामारीको समयमा कोही पनि भोकै बस्नु पर्ने अवस्था आउन नदिने बताउनुभयो ।
मापदण्ड बनाएर सामग्री बितरण गर्छौं–अध्यक्ष ओली
यसैबीच बंगलाचुली गाउँपालिकाले राहत स्वरुप उपलब्ध भएको खाद्य सामग्री मापदण्ड बनाएर बितरण गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले विभिन्न संघसंस्थाबाट प्राप्त भएको सहयोग निश्चित मापदण्ड बनाएर वितरण गर्ने जानकारी दिनुभयो । गाउँपालिकाले राहत बितरणका लागि विशेष संयन्त्र बनाएको भन्दै सोही संयन्त्रबाट राहत जनता कहाँ पु¥याउने अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस