तुलसीपुरमा आपतकालिन “डिजिटल” मिटिङ्ग

चैत १६, २०७६

“नमस्कार मेयर साप, हाम्रो वडामा विभिन्न देशबाट आएकाको लगत लिइएको छ , राहतको लागि जनताले निरन्तर सम्पर्क गरिरहेका छन् के गर्न सकिन्छ ” तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले फेसवुक म्यासेन्जरबाट वडाका कुरा राखे । उनीसँगै अन्य कार्यपालिका सदस्यले पनि वडाका विभिन्न कुरामा वारेमा जानकारी दिए ।

उपमहानगरपालिका कार्यपालिकाको वैठक सभाहलमा होइन मोवाईलमा भइरहेको थियो । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा त्यस्तो वैठक वसेको हो । फेसवुक गु्रप मार्फत लाइभ मिटिङ्ग भएको थियो । कोराना संक्रमणको प्रकोपलाई नियन्त्रण र व्यवस्थापन गर्नका लागि अत्यावश्यक भएकाले डिजिटल रुपमा वैठक वसेको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

“सबै कार्यपालिका सदस्य एकै ठाउँमा वसेर मिटिङ्ग वस्न अहिलेको अवस्थामा उचित नभएकाले डिजिलट रुपमा वैठक वसिएको हो” उनले जानकारी दिए ।सबै कार्यपालिका सदस्यहरुलाई फेसवुक गु्रपमा जोडेर घरबाटै सबैले विचार राखेका थिए।

पालैपालो कार्यपालिका सदस्यहरुले वडामा के कस्तो अवस्था रहेको छ भन्ने वारेमा जानकारी गराएका थिए भने नगरप्रमुख पाण्डेले आवश्यक सुझाव समेत दिएका थिए । उपमहानगरपालिकामा यस्तो खालको वैठक पहिलो पटक सञ्चालन भएको हो ।

वैठकमा विभिन्न एजेण्डा प्रस्तुत गरेर नगरप्रमुख पाण्डेले सुरुवात गरेपछि अन्य सदस्यले विचार राखेका थिए । वैठकले कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुको खोजि गरेर क्वारेन्टाइनमा राख्ने र लकडाउनका कारण प्रभावित परेका विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । खाद्यान्न वितरणलाई व्यवस्थित वनाउनका लागि तुलसीपुर फुड बैक स्थापना गर्ने समेत वैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस