प्रदेश ५ का तीन ठाउँबाट कोरोना परीक्षण सुरु गरिने, किसानलाइ पास

चैत १८, २०७६

 

तुलसीपुर । प्रदेश ५ सरकारले तीन ठाउँबाट तत्काल कोरोना भाइरस परीक्षण सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गरी कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेको हो।

चीनबाट सरकारले ल्याएको कोरोना परीक्षण मेसिन पिसिआर प्रदेश ५ का प्राप्त भइसकेको पनि प्रदेश सरकारले जनाएको छ। भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रभित्र रहेको वीउविजनको भवन ल्याबका लागि तयार बनाइएको छ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले तत्काल परीक्षण सुरु गर्न यस्तो निर्णय गरेको बताइएको छ।

बैठकले एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सुरक्षाका लागि पिपिई पठाइने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारीमार्फत् एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराइनेछ।

खेती किसानी गर्न विशेष पास

प्रदेश सरकारले खेती किसानी गर्ने किसानलाई कृषि प्रयोजनका उपकरण मेसिन सञ्चालन गर्न दिने निर्णय गरेको छ। खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेसिन सञ्चालनका लागि अनुमति दिन सकिने निर्णय भएको हो। गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृत र जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउनुपर्नेछ ।

यसैगरी सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरिएको छ। क्वारेन्टाइनमा बस्नेहरुको खानपिनको व्यवस्थासमेत स्थानीय तहले गर्नुपर्नेछ।

बैठकले निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने व्यवस्था गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस