किन देखिएनन् कलाकारका सहयोगी हात ?

चैत १७, २०७६

काठमाडौं। कोभिड–१९ महामारीविरुद्ध लड्न बलिउड अभिनेता अक्षयकुमारले भारत सरकारले खडा गरेको कोषमा २५ करोड भारू दिने घोषणा गरे, १५ चैतमा। प्रधानमन्त्री केयर फण्डमा उनले दिएको यो रूपैयाँ नेपाली ४० करोड हुन आउँछ।

भारतकै अर्का अभिनेता प्रभासले पनि प्रधानमन्त्री केयर फण्डमा तीन करोड भारू र ५०/५० लाख भारू तेलंगना र आन्द्र प्रदेश सरकारको कोषमा दिएका छन्। त्यस्तै, अभिनेता महेश बाबु र पवन कल्याणले १/१ करोड सहयोग गरेका छन्। फण्डमा बलिउड हस्तिहरूले सहयोग गर्ने क्रम जारी छ।

यो भारतको कुरा हो। नेपाल पनि अहिले लकडाउन छ। सरकारले कोभिड-१९ विरुद्ध लड्न कोष खडा गरेको छ। गत ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणविरुद्ध ५० करोडको विशेष कोष स्थापना गर्ने निर्णय गरेको थियो। उक्त कोषमा सरकारका अन्य निकाय, कर्मचारीदेखि निजी क्षेत्रले सहयोग गर्ने क्रम जारी छ।

यो कोषमा गायक प्रकाश सपूतले दुई लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरे। त्यस्तै, चपली हाइट ३ का निर्माता अर्जुन कुमारले पनि ५० हजार रूपैयाँ सहयोग घोषणा गरेका छन् भने आज मात्र लोकदोहोरी गायक बद्री पंगेनीले ५० हजार रूपैयाँ कोषमा दाखिला गरेका छन्।

नेपाल चलचित्र कलाकार संघले कोषमा एक लाख एक हजार रूपैयाँ सहयोग गरेको छ भने नायिका वर्षा सिवाकोटीले पनि कोषमा एक लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन्।

तर, अनौठो के छ भने यो कोषमा नाम चलेका र प्रतिष्ठित कलाकारका तर्फबाट कुनै सहयोग प्राप्त भएको छैन। कोष स्थापना भएको एक साता बितिसक्दा पनि विपत्तिमा सरकारलाई सघाउने तत्परता उनीहरूमा देखिँदैन।

एउटा उदाहरण हुन्, राजेश हमाल। नेपाली चलचित्रका महानायक भनिने हमालले कोषमा सहयोग गर्नेबारे सोचिरहेको बताए। उनले भने, “सहयोग गर्नेबारे सोचिरहेको छु। कुन माध्यमबाट सहयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ।”

पछिल्लो समय चर्चामा रहेकी नायिका प्रियंका कार्कीले भने कोष स्थापना गरिएको छ भन्नेबारे जानकारी नै नभएको बताइन्। “यसको लागि पनि कोष स्थापना गरिएको छ र ?”, उनले उल्टै प्रतिप्रश्न गरिन्।

अहिले घरमै लकडाउनमा बसेर सरकारको आदेश पालना गरिरहेको भन्दै उनले उक्त कोषमा सहयोग गर्नेबारे तत्काल कुनै योजना नभएको बताइन्। “सहयोगबारे त कुनै योजना बनाएकी छैन। अहिले घरमै बसेर सामाजिक सञ्जालमार्फत् कोरोनाबारे आफूले जानेको सचेतना दिइरहेका छौं”, उनले भनिन्।

नायिका आँचल शर्माले २९ फागुनमा तामझामपूर्ण विवाह गरिन्। सामाजिक सञ्जालमा उनको लाखौं मूल्य पर्ने कपडा र गहनाको चर्चा चुलियो। यतिबेला घरमै बसिरहेकी आँचलले पनि कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले स्थापना गरेको विशेष कोषमा आर्थिक सहयोग गर्नेबारे कुनै योजना नबनेको बताइन्।

सामाजिक अभियन्ताका नामले चर्चामा रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले पनि तत्काल सहयोगको कुनै योजना बनाएका छैनन्। “अहिलेको अवस्थामा सरकारसँग पर्याप्त पैसा नभएर कामै रोकिएको भन्ने छैन। भोलि ठूलै विपत्ति आइलाग्यो भने कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेका छौं”, उनले  भने।

परिआएको खण्डमा आफू पनि यो देशको नागरिक भएकाले आफ्नो जिम्मेवारीबाट नपन्छिने धुर्मुसको भनाइ छ। उनले भने, “अहिले त घरभित्रै बसेर सहयोग गर्नुपर्ने अवस्था छ। त्यही भएर पनि यो विपत्तिका बेला कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं।”

कलाकार दीपकराज गिरीले सरकारी कोषको खातामा भन्दा पनि कोरोनाका कारण प्रभावित भएकालाई सहयोग गर्ने योजना रहेको बताए। “कोरोना रोकथामका लागि आवश्यक पर्ने सामान किन्ने क्रममा आर्थिक घोटला भएका समाचारहरू आइरहेका छन्। त्यही भएर मैले सरकारको कोषमा भन्दा पनि प्रत्यक्ष मारमा परेकाहरूलाई खाद्यान्न बाँड्ने योजना बनाएको छु”, उनले भने।

निर्देशक दीपेन्द्र के. खनालले सबै कलाकार तथा चलचित्रकर्मी टन्नै पैसावाला नभएको टिप्पणी गरे। “बलिउडको प्रभावले हाम्रोतिर पनि कलाकारले सहयोग गरेन भन्ने कुराहरू आइरहेको छ। उनीहरूसँग हाम्रो तुलना नै गर्न मिल्दैन। त्यसैले सबैले सहयोग गर्नुपर्छ भनेर बाध्य पार्नु हुँदैन”, उनले भने।

त्यस्तै चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अभिनेता निखिल उप्रेती, दिलिप रायमाझी, भुवन केसी, नायिका रेखा थापा, अभिनेत्री तथा निर्देशक झरना थापालगायत चलचित्र क्षेत्रका हस्तिहरूले पनि सहयोगबारे कुनै सोच बनाएका छैनन्।

बरू, कतिपय कलाकारले यस्तो महाविपत्तिको बेला सहयोग गर्नुको साटो सरकारसँग संगीत तथा कलाकारिता क्षेत्र संकटमा परेको भन्दै विशेष राहत मागिरहेका छन्। नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्रविधिक संघ, नेपाल चलचित्र द्वन्द्व संघ, संगीत तथा चलचित्र उत्पादक समाज, नेपाल, नेपाल संगीत उद्योग संघ, नेपाल चलचित्र उपकरण व्यवसायी संघ र नेपाल चलचित्र नृत्य संघले १२ चैतमा सरकारलाई एक अनुरोध पत्र लेख्दै सिनेमा हलले प्रयोग गर्दै आएको बिजुली, सरकारले कलाकारलाई लगाउँदै आएको करलगायत छुट मिनाहा गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस