मुख्य खबर

नेपाल–अमेरिका व्यावसायिक सम्बन्ध विस्तारमा अमच्याम नेपालको जोड, नेपाली प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय सम्भावना उजागर

खबरशाला संवाददाता खबरशाला संवाददाता • ४ घण्टा अगाडि • ४१ पटक पढिएको

काठमाडौं, १० मंसिर । नेपाल र अमेरिकाबीच व्यावसायिक, सांस्कृतिक तथा प्रविधिगत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) र निउरल एआईले संयुक्त रूपमा थ्याङ्क्सगिभिङ विशेष कार्यक्रम आयोजना गरेका छन्।

निउरल एआईको आयोजनामा अमच्याम नेपालको सहकार्यमा मंगलबार काठमाडौंस्थित होटल काठमाडौं मेरियटमा आयोजित ‘फाउन्डर्स सोसलः अ थ्याङ्क्सगिभिङ ग्यादरिङ’ कार्यक्रममा अमेरिकी व्यवसायी, अमच्याम नेपालका सदस्य, अमेरिकी दूतावासका प्रतिनिधि तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।

अमच्याम नेपालको सदस्य सिकाइ शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध, व्यावसायिक सहकार्य, लगानी र प्रविधि विकासका सम्भावनाबारे चर्चा गरिएको थियो।

कार्यक्रममा अमच्याम नेपालका अध्यक्ष कैलाशराज बिजयानन्दले सहभागीहरूलाई स्वागत गर्दै नेपालमा व्यावसायिक सहकार्य र लगानी प्रवर्द्धनका लागि संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारे। उनले नीतिगत पैरवी, लगानी सहजीकरण तथा सदस्य कम्पनीहरूले सामना गरिरहेका व्यावसायिक चुनौती समाधानमा अमच्याम नेपाल प्रतिबद्ध रहेको बताए।

नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले थ्याङ्क्सगिभिङ पर्वको ऐतिहासिक महत्त्व र यसको सांस्कृतिक पक्षबारे चर्चा गरिन्। उनले अमेरिकी थ्याङ्क्सगिभिङ र नेपालको बाली भित्र्याउने परम्परा तथा चाडपर्वबीचका सांस्कृतिक समानता उल्लेख गर्दै यस्ता साझा मूल्यले दुई देशबीच जनस्तरको सम्बन्ध र आर्थिक साझेदारी थप बलियो बनाउन सहयोग गर्ने बताइन्।

उनले नेपालमा अमेरिकी कम्पनी, प्रविधि र लगानी भित्र्याउन अमच्याम नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली युवाका लागि गुणस्तरीय रोजगारी र अवसर सिर्जना गर्न यस्ता सहकार्य महत्त्वपूर्ण हुने बताइन्।

कार्यक्रमको प्रमुख आकर्षण निउरल एआईका सहसंस्थापक तथा अध्यक्ष नवीन बास्कोटाले प्रस्तुत गरेको कम्पनीको व्यावसायिक यात्रा थियो। नेपालबाट सुरु भएर अमेरिकाको न्यूयोर्कसम्म विस्तार भएको कम्पनीको यात्राबारे जानकारी दिँदै उनले नेपाली प्रतिभा, प्रविधि र उद्यमशीलतामार्फत विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने उदाहरण प्रस्तुत गरे।

निउरल एआईले विश्वका १५० भन्दा बढी देशमा ग्लोबल पेरोल, मानव संसाधन व्यवस्थापन तथा रोजगारीसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीमा १० भन्दा बढी देशमा २०० भन्दा बढी कर्मचारी कार्यरत छन् भने यसको सबैभन्दा ठूलो टोली नेपालमा रहेको छ।

त्यसैगरी, कम्पनीका एप्लाइड एआई प्रमुख धिरज खनालले ‘निउरल एआई ल्याब्स’ सम्बन्धी प्रस्तुति दिँदै विश्वव्यापी तलब व्यवस्थापन तथा मानव संसाधन प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोग र सम्भावनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा निउरल एपीएसीका महाप्रबन्धक रोशन लामाले समापन मन्तव्य राख्दै अमेरिकी दूतावास, अमच्याम नेपाल तथा कार्यक्रममा सहभागी अतिथिहरूप्रति आभार व्यक्त गरे। उनले नेपालमै बसेर विश्व बजारका लागि प्रविधि तथा सेवा विकास गरिरहेको निउरलको नेपाली टोलीको योगदानको प्रशंसा गरे।

कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत-नियुक्त चिरनजॅग थापासहित अमेरिकी दूतावासका प्रतिनिधिहरूको उपस्थिति थियो।

अमेरिकामा मनाइने थ्याङ्क्सगिभिङ पर्वको मुख्य सन्देश कृतज्ञता, साझेदारी, समुदाय र समृद्धि रहेको उल्लेख गर्दै आयोजकले यस्ता कार्यक्रमले नेपाल र अमेरिकाबीच संस्थागत सम्बन्ध तथा व्यावसायिक सहकार्य विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

हाल अमच्याम नेपालमा सूचना तथा सञ्चार प्रविधि, ऊर्जा, पर्यटन, उत्पादन तथा सेवा क्षेत्रसहित विभिन्न क्षेत्रका ७२ कम्पनी सदस्यका रूपमा आबद्ध छन्। संस्थाले नेपाल र अमेरिकाबीच व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन, नीतिगत पैरवी तथा निजी क्षेत्र र सरकारी निकायबीच सहकार्यका लागि काम गर्दै आएको छ।

निउरल एआईले नेपालसहित न्यूयोर्क, न्यू जर्सी, सान फ्रान्सिस्को, क्यानडा, बैंगलोर तथा युरोपमा आफ्नो उपस्थिति विस्तार गरेको छ। कम्पनीले ५२ मिलियन अमेरिकी डलरको सिरिज ‘ए’ लगानीसमेत प्राप्त गरेको छ। काठमाडौंमा मात्रै १०० भन्दा बढी कर्मचारी इन्जिनियरिङ तथा सञ्चालन क्षेत्रमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।