२० असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटवार्ताका क्रममा नेपालमा हालै आएको प्राकृतिक विपद्, आर्थिक सुधार तथा विकासका प्राथमिकताबारे छलफल गरेका हुन्।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणलगायतका क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा घनीभूत छलफल भएको बताइएको छ।
विश्व बैंक अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमहरूको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
बाङ्गाले एसियाली विकास बैंक (ADB), अन्तर्राष्ट्रिय वित्त निगम (IFC) लगायतका विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारीसमेत दिए।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
विभिन्न भूभागमा वर्षाको सम्भावना
दाङमा अटो र बस ठोक्किदा दुईको मृत्यु






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्