बालबालिकाका लागि कसरी लकडाउन उपयोगी बनाउने

डाक्टरकाे सन्देश

बैशाख ०७, २०७७

लकडाउनका समयमा बालबालिकाहरु घर भित्रै वसिरहदा निकै तनावपूर्ण हुने गरेका छन् । स्वभावैले उनीहरु के न केही नयाँ कुरा गर्ने र रमाउने खालका हुन्छन् । खुला ठाउँमा मनलाग्दो गर्न चाहने बालबालिकाहरुलाई लकडाउनको समयमा पनि कसरी घरभित्र रमाइलो वातावरण वनाउने भन्ने बारेमा बालरोग विशेषज्ञ डा. किशोर खत्रीको विशेष टिप्स

 

 

नेपालमा झण्डै ४० प्रतिशत वालबालिकाहरु १८ वर्ष मुनिका छन् । यो उमेर भनेको स्कुल जाने, पढ्ने, खेल्ने र साथीभाईसँग रमाउने उमेर हो । गएको चारहप्तादेखि लकडाउनका कारण सबै बालबालिकाहरु घरभित्रै रहेका छन् । घरमा वस्न वाध्य भएका बालबालिकाहरुमा कोरोना भाइरस भनेको के हो ?

यसबाट मानिसहरु किन त्रसित छन् ? बुबा आमा किन गाउँमा या अफिसमा नगएको होला ? घरमा किन कोही नातेदार नआएको र बाबा आमा किन नातेदार कहाँ नगएको होला ? नयाँ वर्ष र चैते दशै जस्तो चाडपर्व किन नमनाएको होला ? पसल, गाडी, सिनेमा हल, रेष्टुरेण्ट किन नखुलेको होला ? साथी संगीसँग किन भेट नभएको होला ? लामो विदा नभएर पनि किन अघिपछिको जस्तो बाबुआमासँग छुट्टी मनाउन नगएको होला आदी आदी ।

यस्ता विभिन्न खाले प्रश्नहरुले लकडाउनले बालबालिकाहरुमा विभिन्न खाले समस्याहरु देखिने गरेका छन् ।
मानसिक समस्याहरु ः
भय, डर र त्रासः
साथीसँग भेटभाट नहुने भएकाले उनीहरुलाई एक्लोपनको महसुस हुन्छ । जसमा उनीहरु भय, डर र त्रासमा एक्लै बस्न सक्दैनन् । आमाबुबा वा घरको ठूलो मान्छेका अघिपछि लाग्न सक्छन् । कोरोना संक्रमणका वारेमा विभिन्न कुराहरु सुनेकाले पनि उनीहरुलाई यस्तो भएको हुन्छ ।

तनाव ः
विभिन्न समाचार माध्यमबाट विश्वभर कोरोनाका कारण यति धेरै मान्छेको ज्यान भयो र संक्रमित भए भन्ने खालका समाचारहरु आइरहेका हुन्छन् । यसका साथै कोरोनाको वास्तविक कारण भन्दा पनि सास र हावाबाट यो सर्दछ भन्ने खाले समाचारका कारणले गर्दा वालवालिकाहरु टोलाउँने, रिसाउँने झर्कने,अनावश्यक जिद्दि गर्ने, खान मन नलाग्ने, निद्रा नलाग्ने र सपनामा बरबराउँने जस्ता समस्या देखिन सक्छन् । यसले उनीहरुमा तनाव वनाउँने गर्दछ । यस कुरामा बालबालिकाहरुलाई विशेष ध्यान दिनुपर्दछ ।

कसरी बालबालिकालाई मानसिक समस्या हुनबाट बचाउने ?

यिनीहरुको मनमा उठेका विभिन्न प्रश्नहरुको उत्तर दिन आवश्यक हुन्छ । केही प्रश्न गरेमा वा बारबार जानकारी लिन खोजेमा यिनीहरुलाई मायालु तरीकाले उत्तर दिने, धेरैपटक प्रश्न सोध्यो भनेर झर्को नमान्ने यिनीहरुको मनमा लागेको जिज्ञासा भेटाउन पर्दछ । उनीहरुले आफ्नो वरिपरि बुवा आमा बाहेक अरु शिक्षक शिक्षिकालाई पनि नभेट्ने भएकाले पनि नम्र तरिकाले उत्तर दिनुपर्दछ ।

कोरोना सम्वन्धि परामर्श दिने ः

यो रोग के हो ? कसरी सर्छ र कसरी वच्न सकिन्छ ? जस्ता विषयमा बालबालिकाहरुलाई अभिभावकले बेलाबेलामा जानकारी दिनुपर्दछ । यसका साथै उनीहरुलाई
– साबुन पानीले हात धुने तरीका
– माक्स र पञ्जा लगाउने तरिका
– हाच्छ्यु गर्दा वा खोक्दा रुमाल प्रयोग गर्ने या कुहिनाले छोप्ने तरिका
– हात धुँदा २० सेकेन्ड सम्म धुने ।
(मनमनै राष्ट्रिय गान या मनपर्ने गीत गाउँने )
– सामाजिक दुरी कायम गर्ने
– कोरोना सम्वन्धि नकारात्मक समाचार कम सुन्ने, पढ्ने र हेर्ने
– सामाजिक सञ्जालमा पनि यस्ता सामग्रीहरुमा धेरै ध्यान नदिने
– सबै विवरणहरु बालबालिकालाई सेयर नगर्ने

सृजनाशिल काम
क) वालवालिकाहरुले दिनभर गर्ने कामको वारेमा उपयुक्त तालिका वनाउने
– कतिवेला उठ्ने ?
– कतिवेला योगा र अन्य शारिरीक कसरत गर्ने ?
– कतिवेला खाना या खाजा खाने ?
– कतिवेला खेल्ने ?
– कतिवेला मोवाइल चलाउने ?
– कतिवेला टिभी हेर्ने ?
– कतिवेला पढ्ने ?

ख) खाना पकाउन सहयोग गर्ने

बालबालिकाहरुलाई अभिभावकले खाना पकाउने विधिका वारेमा जानकारी दिनका लािग उनीहरुलाई खाना पकाउने काममा सरिक वनाउनुपर्दछ । जस्तै तरकारी काट्ने, चामल केलाउँने, पिठो मुछ्ने, खाना पकाउने, खाना पुर्याउने, भाडा माझ्ने जस्ता काममा उनीहरुलाई प्रत्यक्ष सहभागी वनाउनुपर्दछ ।

ग) वैठक कोठाको सजावट

वैठक कोठामा रहेका सबै कुराहरु मिलाउने, सफा गर्ने, सोफामा लगाएको खोल मिलाउने, कोठामा राखिएका सामान ठीक ठाउँमा छ या छैन हेरेर मिलाउने काममा उनीहरुलाई लगाउनु पर्दछ ।

घ) वगैचा ः

वगैचा सफा गर्ने, फुल लगाउँने, बोटविरुवालाई पानी चार्ने र वचैमामा लगाएका फुल र बोटका वारेमा जानकारी समेत लिने ।

ङ) घरभित्र खेल्न मिल्ने लुडो, चेस क्यारेमबोर्ट लगायतका विभिन्न खेलहरु खेल्ने ।

च) विभिन्न खालका कथा सुन्ने र सुनाउने

छ) फोनमा स्कुलका साथीहरुसँग कुराकानी गराउँने

ज) युट्युव या टेलिभिजनमा कार्टुन या सिनेमा मात्रै हेर्ने भन्दा पनि विभिन्न देशका वारेमा जानकारी दिनेका अलावा विभिन्न शिक्षाप्रद कुराहरु हेर्ने

झ) योगाका अलावा विभिन्न शारिरीक अभ्यास गर्ने

ञ) संगीत सुन्ने

अनिवार्य रुपमा ख्याल गरौ

– सबैले अनिवार्य रुपमा लकडाउनको पूर्णपालना गर्ने, अभिभावकहरु पनि अनिवार्य काम वाहेक वाहिर ननिस्कने
– साबुन,पानीले हात धुने
– मास्क र पञ्जा लगाउने र स्यानिटाइजरको प्रयोग गर्ने
– सामाजिक दुरी कायम राख्ने
– बालबालिकाको अगाडि डरलाग्दो या त्रसित कुरा नगर्ने

लकडाउनलाई परिवारका सबै सँगै वस्ने अवसरको रुपमा लिएर परिवारसँग रमाईलो र उपलब्धिपूर्ण ढँगले समय विताउँने । व्यस्त दैनिकीबाट टाढा रहेर परिवारसँग प्रसस्त समय सृजनशिल ढँगले विताउने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस