मुटु रोगीले जीवनभर औषधि खानुपर्छ?

असोज ११, २०७

काठमाडौं अस्वस्थकर खानपान र निस्क्रिय जीवनशैलीका कारण मुटुजन्य रोगहरु बढ्दो छ। मुटु रोग देखा परेपछि बिरामीलाई हामीले औषधि खान सुझाव दिन्छौ। तर औषधि सम्बन्धी कतिपय बुझाईहरु भने गलत छन्। एक पटक औषधि सुरु गरेपछि जीवनभर खानुपर्ने, औषधिले साइड इफेक्ट गर्ने, मिर्गौला बिगार्ने, बानी पर्ने बारे धेरै बिरामीले प्रश्न गर्छन्। यही कारणहरुले गर्दा उक्तचापको औषधि पनि बिरामीहरुले खान चाहदैनन्। म कहाँ समस्या लिएर आउने अधिकांश बिरामीहरुले पनि औषधि खान चाहदैनन्।

‘प्रेसरको औषधि नखानुस्। तपाई जीवनशैली परिवर्तन गर्नुस्। तीन महिनामा प्रेसर ठिक हुन्छ। औषधि खानु पर्दैन।’ मैले बिरामीहरुलाई भन्छु। उहाँहरुले तेस्रो महिनासम्म जीवनशैली परिवर्तन गर्नुहुन्छ। प्रेसर पनि नियन्त्रणमा हुन्छ। तर चौँथो महिनादेखि भने पुरानै शैलीमा जीवन फर्कन्छ। अनि प्रेसरको समस्या लिएर आउँछन्।

हाम्रो कामको प्रकृति, वातावरण, तनावका कारण हामीले सोचेजस्तो जीवनशैली परिवतर्न गर्न सकिरहेका छैनौं। बाहिरी वातावरणीय प्रदूषणले स्वास्थ्यमा निकै प्रतिकुल असर समेत पारिरहेको छ। त्यसैले समस्या देखिएपछि औषधि खानुपर्छ। औषधि सेवनसँगै जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ। सन्तुलिन खाना खाने, शारीरिक व्यायाम गर्ने, तनावमुक्त हुने, चुरोट, रक्सी नखाने। यसलाई जीवनभर कायम गर्नुभयो भने औषधि पनि छोड्न मिल्छ। तर तपाईले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने संभावना कति छ? त्यसमा पनि भर पर्छ। स्वस्थ्य जीवनशैली परिवर्तन नगरेसम्म समस्यालाई रोक्न औषधिको खाँचो पर्छ। थोरै व्यक्तिले मात्र जीवनशैली परिवर्तन गरेर औषधि कम गरेको मैले पाएको छु।

उच्च उक्तचाप, कोलेस्ट्रोल, मधुमेह देखिएको पहिलो दिन नै औषधि खानु ठिक हो। लाइफलङ औषधि खाने होइन। लाइफलाई लङ बनाउन औषधि खाने हो। मम, चाउमिन, पिज्जा, जाडरक्सी, चुरोट खाँदा हामीले यसको असर बारे सोच्दैनौं। तर औषधिको साइड इफेक्ट बारे सोच्छौ। औषधिको मात्रा, डोज, चिकित्सकको परामर्श अनुसार खानुभयो भने साइड इफेक्ट हुँदैन। थोरै मात्र रक्तचाप र कोलेस्ट्रोल देखिएको बिरामीले औषधि नखाई जीवनशैली परिवर्तन गरे मात्र पनि हुन्छ। तर २२०-१४० प्रेसर लिएर बिरामीहरु आउँछन्। त्यस्तो बिरामीले पनि मलाई प्रश्न गर्छन्, ‘डाक्टर साब एक्सरसाइज गरेर मात्र पनि हुन्छ की हुँदैन?’ यस्तो उच्च रक्तचाप भएको बिरामीलाई हामी एक्सरसाइज हैन, केही दिन आराम गर्न सुझाव दिन्छौ। 
(वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिल नेशनल कार्डियाक सेन्टरमा आवद्ध छन्।)

प्रतिक्रिया दिनुहोस