कोरोनाबाट विदेशमा रहेका ७३ नेपालीको मृत्यु, ५ हजारभन्दा बढी संक्रमित

बैशाख २१, २०७७

काठमाडौं-विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट  मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघका अनुसार  बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ। जसमध्ये  मध्यन्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो।  यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा  ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले जानकारी दिए।

त्यस्तै विश्वभर ५ हजार २ सय ४७ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्। संक्रमितमध्ये १५ सय ७० जना संक्रमणमुक्त भएको अनुमान छ।

मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ।  कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन्।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्।

मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार,  बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समन्वय परिषद्मार्फत् राहत वितरणको काम गरिरहेको जनाएको छ । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस