बिहीबारदेखि शनिबारसम्म वर्षाको हुने

माघ १, २०७८

तुलसीपुर । जल तथा मौसम विज्ञान विभागले यो साताभरि मौसममा सुधार नहुने जनाएको छ।

विभागले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै न्यून चापीय प्रणालीका कारण आगामी शनिबारसम्मै देशका विभिन्न स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको हाे।

विभागका अनुसार, बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी र हिमाली भूभागका विभिन्न स्थानमा हल्का हिमपात तथा पहाडी र तराईका धेरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसै गरी शुक्रबार देशका उच्च पहाडी र हिमाली धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा देशका पहाडी र तराईका धेरै स्थानमा मेघ गर्जन सहित चट्याङ र असिना एवं हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान विभागको छ। शनिबार समेत गण्डकी, बागमती र प्रदेश नम्बर १ का विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यो मौसमी प्रणाली आइतबारदेखि कमजोर हुँदै जाने कारण त्यसपछि मात्रै मौसम खुल्ने विभागको अनुमान छ। विभागले यो अवधिमा चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन सतर्क पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस