कस्ताखाले कोरोना संक्रमितलाई अस्पताल लैजाने ?

खबरशाला संवाददाता  |  जेठ ०, २०७८

काठमाडौं । घरमै होम आइसोलेसनमा बसेका कोरोना संक्रमित आफ्नो काम आफैं गर्न नसक्ने अवस्था छ भने उनीहरुलाई तत्काल अस्पताल पुर्याउनु पर्छ । वीर अस्पतालका कोभिड फोकल पर्सन  अच्युतराज कार्कीका अनुसार होम आसोलेसनमा बसेको व्यक्ति आफ्नो काम आफैं गर्न नसक्ने अवस्था आउन बित्तिकै अस्पताल लैजानु पर्ने बताउँछन् । 

“संक्रमितलाई ऊ बसेको ठाउँमै गएर सहयोग गर्नुपर्ने अवस्था छ भने यो सम्झिनुपर्छ कि उसलाई अस्पताल लैजाने अवस्था हो,” डा. कार्की भन्छन्, “होम आइसोलसेनमा त्यस्ता संक्रमित बस्ने हो, जो आफ्नो काम आफैं गर्न सक्छन् ।”

खाना खान नसक्ने, बद्धबृद्धा तथा अपाङ्हरुलाई सकेसम्म होम आइसोलेसनमा नराख्न सुझाव दिँदै उनी त्यस्ता संक्रमितलाई अस्पताल लैजान सुझाव दिन्छन् । आफ्नो काम गर्न नसक्ने अवस्थाका संक्रमितलाई अरुले सहयोग गर्दा सहयोग गर्नेहरुलाई पनि संक्रमणको डर हुने भएकाले अस्पताल लैजानु नै उपयुक्त हुने उनको भनाइ छ । 

मास्क, फेससिल्ड, पञ्जा लगाएर होम आइसोलेसनमा बसेकालाई सहयोग गर्न सकिने तर सकेसम्म संक्रमित रहेका व्यक्ति बसेको ठाउँमा कम समय रहन डा. कार्कीको सुझाव छ । यसरी सहयोग गर्दा आफूले लगाएको मास्कमा हात लैजान नहुने उनी बताउँछन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेकोमा होम आइसोलेसनमा १ लाख ८ हजार १०३ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७०३ बसेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस