घरमै बसेका कोरोना संक्रमितको ख्याल कसरी गर्ने ?

खबरशाला संवाददाता  |  बैशाख १८, २०७८

१) कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य भएमा घरमै भिन्दै कोठामा आइशोलेशनमा बस्दा हुन्छ। तर आइशोलेशनमा बस्ने कोठा भेन्टिलेशन युक्त हुनु पर्छ।

२) संक्रमितलाई घरमा रहेका अरुले खाना बनाएर कम्तीमा ६ फिटको दूरी कायम गरि आइशोलेशनमा बसेको कोठमा लगेर दिन सकिन्छ। संक्रमितले खाना खाएपछि आफ्नो भाँडा सकेसम्म आफै माझ्ने र घाममा सुकाउने गर्नु पर्छ। सुकाउँदा भाइरस भए मर्छन्।

३) खाना दिन जाँदा वा अरु हेरचाहका लागि जाँदा मास्क राम्रोसँग लगाउनु पर्छ। संक्रमितले पनि मास्क लगाउनु पर्छ। हेरविचारका लागि स्वस्थ र वयश्क मात्रै जानु पर्छ। पाको उमेरका व्यक्ति संक्रमितबाट परै बस्ने तथा खाना दिने र स्याहारका अरु काम गरेपछि सम्बन्धित व्यक्तिले राम्रोसँग आफ्नो सफाइमा ध्यान दिनु पर्छ।

४) सकेसम्म संक्रमितले भिन्दै ट्वाइलेट–बाथरुम प्रयोग गर्नु पर्छ। यदि त्यस्तो छैन भने हरेक प्रटक संक्रमितले प्रयोग गरेपछि राम्रोसँग सफा गर्नु पर्छ। संक्रमितले प्रयोग गरेको ट्वाइलेट सफा गर्नका लागि ब्लिच वा ७० प्रतिशत अल्कोहलयुक्त सोलुशन या साबुन पानीले राम्रोसँग गरेर सुकेपछि मात्रै अरुले प्रयोग गर्नु पर्छ।

५) संक्रमित व्यक्तिले मास्क लगाउने, कोठाबाट बाहिर निस्कँदा दूरी कायम गर्ने, प्रोटिनसहितका पोषकतत्व युक्त खानेकुरा खाने, प्रशस्त मात्रामा पानी पिउने, निश्चिन्त हुने गर्नु पर्छ।

६) संक्रमितले आफ्ना लक्षणहरुमा विशेष ध्यान दिनु पर्छ। ज्वरो आउने, ज्यान दुख्ने सामान्य लक्षण हुन्, त्यसमा खासै आत्तिनु पर्दैन। तर कफ आइरहेको छ र बिग्रिँदै गएको छ भने सतर्क बन्नु पर्छ। कफ गर्दा वा लामो सास फेर्दा छाती दुख्छ भने सतर्क बन्नु पर्छ, यस्तो अवस्थामा निमोनिया भएको हुन सक्छ। यस्तै पल्स–अक्सिमिटर ९४ भन्दा कम भयो भने तुरुन्त स्वाथ्यकर्मीलाई भन्ने वा अस्पताल भर्ना हुनु पर्छ।

प्रतिक्रिया दिनुहोस