काठमाडौं छोड्नेलाई दुई दिनको समय

खबरशाला संवाददाता  |  बैशाख १४, २०७८

काठमाडौं उपत्यकाबाहिर जान चाहानेलाई निश्चित समय दिएर सीमामा कडाइ गरिने भएको छ।

उपत्यकामा निषेधाज्ञा गरेपनि सीमा नाकाबाट हुने आवतजावतले कोरोना संक्रमणको जोखिम झनै बढाउने भन्दै सीमानाकामा समेत कडाइ गर्ने तयारी भएको गृह श्रोतले जनाएको छ।

हेल्थपोस्टसँगको कुराकानीमा गृहमन्त्रालयका एक अधिकारीले भने, ‘तीन जिल्लाका सिडिओहरु अझै पनि छलफलमा हुनुहुन्छ, धेरै कुरा त क्याबिनेटले पनि गर्नेभएकाले उहाँहरु अहिले नगर्ने कि भन्नेमा पनि हुनुहुन्छ। तर उपत्यकामा कडाइ गर्ने भए सीमामा पनि कडाइ गर्नुपर्छ भन्नेमा भने सहमति भएको छ।’

उपत्यकामा बढ्दो कोरोना संक्रमणको ग्राफलाई घटाएर चेनब्रेक गर्न पनि कडाइ गर्नुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सहभागी ती अधिकारीले बताए।

‘बिगतमा लकडाउन गर्दा मानिसहरुको ओहोर दोहोर कस्तो थियो, तपाई हामीलाई थाहा छ,’ उनले भने, ‘यसपटक त्यस्तो कमजोरी नहोस् भन्नेमा हामी सचेत छौं, त्यसैले १६ गतेदेखि नै गर्ने भन्ने भएको हो, यसबीचमा घर जान चाहानेले जानसक्नुहुन्छ।’

तर निषेधाज्ञा लागू भएपछि कुनै पनि प्रकारको छुट नदिने र नियम पालना नगर्नेमाथि कारवाहीसमेत गरिने ती अधिकारीले बताए।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु अहिले पनि गृहमन्त्रालयमा छलफलमा छन् । निषेधाज्ञाको आधिकारिक निर्णय सार्वजनिक गर्ने अझै केही घण्टा लाग्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । उनका अनुसार सुरुवातमा एक हप्ताका लागि निषेधाज्ञा गर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस