नेपालमा दैनिक कति हुन्छ अक्सिजन उत्पादन ?

खबरशाला संवाददाता  |  बैशाख १४, २०७८

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएसँगै आम नागरिकले अक्सिजन पनि पाइने हो कि हैन भन्ने चिन्ता व्यक्त गरिरहेका छन्। दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो। 

भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि? भन्ने आम मानिसको चासो र चिन्ता छ। कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ। तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ। 

आवश्यक परेका बेला उपयोग गर्न सकिने गरी अक्सिजन उपलब्ध गराउने गरी सरकारले पछिल्लो समय अक्सिजन उत्पादक (व्यवसायी)हरुसँग छलफल गरेको छ। कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ। 

अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ। 

कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग ? 
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्। 

यसका साथै केही ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट समेत छन्। ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालहरुमा पर्याप्त मात्रामा पुग्ने गर्छ। तर केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्नु पर्ने अवस्था छ।

काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अक्सिजन उत्पादक संघका अध्यक्ष  शारडाले बताए।  एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ।  अन्य उद्योगहरुले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले बताए। 

उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ। 

नेपालमा उत्पादन हुने अक्सिजनमध्ये  ३० देखि ४० प्रतिशसत औद्योगिक प्रयोगमा खपत हुने गर्छ। महामारीका बेला अक्सिजन प्रयोग गरिने उद्योग बन्द हुने भएकाले मेडिकल प्रयोजनका लागि अक्सिजनको अभाव नहुने अध्यक्ष शारडा बताउँछन्। 

महामारी बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको माग भने पहिलेको तुलनामा बढेको अध्यक्ष शारडा बताउँछन्। मागअनुसार आपूर्ति पनि भइरहेको उनले बताए। 

अहिलेको अवस्थामा अक्सिजनको भन्दा पनि अक्सिजन भर्न प्रयोग हुने सिलिण्डरको अभाव हुनसक्ने शारडा बताउँछन्। मानिसहरुले अक्सिजन किनेर घरमा भण्डारण गर्न थाल्दा सिलिण्डरको अभाव हुने उनको भनाइ छ। 

‘हिजोआज अक्सिजनसँगै सिलिण्डर खोज्ने मानिसको संख्या पनि बढेको छ। एउटा भएपनि मलाई सिलिण्डर चाहियो भन्न थालेका छन्,’ अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले भने, ‘मानिसहरुले सिलिण्डर लगेर घरमा भण्डारण गर्न लागेका छन्।’

अध्यक्ष शारडा खाना पकाउने (एलपी) ग्यास जस्तै अक्सिजन पनि घरमा स्टक गरेर राख्न जरुरी नभएको बताउँछन्। अक्सिजन उद्योगले पनि यसरी दिने कार्य गर्न नहुने उनको भनाइ छ। 

‘नेपालगञ्जमा संक्रमित बढेपछि अक्सिजनको माग बढेको छ। व्यक्तिका घरमा र अस्पतालमा समेत अक्सिजनका थप सिलिण्डर जान थालेका छन्,’ उनले भने, ‘गत वर्षको कोभिडमा पनि हामीले पर्याप्त मात्रामा उपलब्ध गराएका थियौं। अहिले उक्त अवस्थामै पुगेको छैन, तर मानिसहरु धेरै आत्तिएको देखिन्छ।’ 

आवश्यक परेको अवस्थामा काठमाडौं उपत्यकामा सहज रुपमै उपलब्ध गराउन सक्ने गरी उद्योगहरुले अक्सिजनको आपूर्ति गरिरहेको शारडाले बताए। 

अध्यक्ष शारडाका अनुसार कोरोना संक्रमितको सपोर्टका लागि प्रयोग हुने अक्सिजनका सिलिण्डर धोएर तथा पूर्ण रुपमा सेनिटाइज गरेर पुन: प्रयोगमा ल्याइन्छ। स्वास्थ्य खबरबाट

प्रतिक्रिया दिनुहोस