घट्याे पीसीआर शुल्क अब एक हजार मात्र

माघ २, २०७७

काठमाडाैं। सरकारले कोभिड-१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए। यसअघि पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ लिने गरेको थियो। 

यस्तै अबदेखि कोभिड-१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ। यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड-१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो। 

मन्त्रालयले यसअघि कोभिड-१९ को उपचारका लागि तोकिएका  मेडिकल कलेजमा बुधबारसम्म भर्ना भई उपचार रहेका कोभिड-१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए।

हालसम्म नेपालमा दुई लाख ७२ हजार तीन सय ४९ जना सङ्क्रमित भएका छन्। संक्रमितमध्ये दुई लाख ६८ हजार पाँच सय ४९ जना निको भइसकेका छन् भने दुई हजार ४७ जना सङ्क्रमितको निधन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस