गजल

बालकृष्ण अधिकारी  |  श्रावण १७, २०७७

नोटैले कृति रचिने भए कहानी केका लागि
हुन्न गलत हो जान्दाजान्दै मनोमानी केका लागि ?

किन बनायौ हे दैव ! अलग अलग लिङ्ग तिमीले
नजन्मी जीवन मासिन्छ भने जवानी केका लागि ?

तिमी आफू हुँदा के बिग्रियो र सप्रियो धर्तीमा
एउटा तिमीजस्तै थपिन्छ जलनी केका लागि ?

मानव रहेनौ ए दानव, निष्ठुर, पापी तिमी
सर्वश्रेष्ठ भनी आफैँलाई सलामी केका लागि ?

जन्मसँग किन यत्ति घृणा ए मनुका सन्तती
रुँदै रुँदै राम राम जप्दै मलामी केका लागि ?

प्रतिक्रिया दिनुहोस